सोसल मिडिया
युनिकोड
पार्टी अनुशासन समितिले भकाभक आफू पक्षीय नेतालाई गोर्खे लौरी लगाएपछि नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफूपक्षीय नेताहरूको बैठक बोलाएका छन्। रुष्ट रहेका शेखरले बिहीबार बिहान ८ बजे बस्ने गरि उनकै सम्पर्क कार्यालय विशालनगरमा बैठक डाकेका हुन्।
आफ्नो पक्षका केन्द्रीय सदस्य, मन्त्री, सांसद र नेताहरूलाई शेखरले डाकेका हुन्। अनुशासन समितिले लुम्बिनीका महामन्त्री, खोटाङका जिल्ला सभापति र कास्कीका निवर्तमान जिल्ला सभापतिसहित १८ नेतालाई १ वर्षका लागि पार्टीबाट निष्काशन गर्ने गरी कारबाही गरेको छ।
लुम्बिनीका महामन्त्री विक्रम खनाल, खोटाङका सभापति विष्णुकुमार राई र कास्कीका निवर्तमान सभापति कृष्ण केसी शेखर समूहका नेता हुन्।
यसअघि हालै सम्पन्न केन्द्रीय समितिको बैठकमा पनि शेखरले अनुशासन समितिको भूमिकामाथि प्रश्न उठाएका थिए। पार्टीबाट नेता निष्काशन गरेको विषयले कांग्रेसमा झन् लफडा निम्तिने लक्षण देखिएको छ।