स्वास्थ्य बिमा कार्यक्रममा पहिलेभन्दा दोब्बर उपचार सहायता, साउन १ देखि लागु

बुधबार, असार २५, २०८२

स्वास्थ्य बिमा कार्यक्रममा आबद्धले अब पहिलेभन्दा दोब्बर उपचार सहायता पाउने भएका छन् । मंगलबार राति बसेको स्वास्थ्य बीमा बोर्डको बैठकले आठ जटिल रोगीलाई २ लाख उपचार खर्च दिने निर्णय गरेको हो । यो निर्णय साउन १ गतेदेखि लागु हुनेछ ।

यससँगै अब क्यान्सर, मुटु, मृगौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिजम र अल्जाइमरका बिरामीले यो सुविधा प्राप्त गर्न सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जानकारी दिएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत स्वास्थ्य बीमा सुधारमा अर्को महत्त्वपूर्ण पाइला थपिएको भन्दै यहि साउन १ गतेबाट आठ जटिल रोगका बिरामीले हाल पाइरहेको एक लाख उपचारमा थप एक लाख गरी दुई लाख सुविधा पाउने बताएका हुन् ।

उनले भनेका छन्, ‘कडा रोग लागेर स्वास्थ्य उपचारका लागि खर्च जुटाउन नसकेर समस्या भोगिरहेका नागरिकको पीडामा राहत दिने सोचका साथ साउन १ गतेबाट ८ प्रकारका बिरामीले हाम्रो पुर्व प्रतिबद्धता अनुसार स्वास्थ्य बीमा कार्यक्रममार्फत २ लाखको उपचार प्राप्त गर्ने व्यवस्था गरेका छौं ।’

मन्त्री पौडेलले आठ जटिल रोगका बिरामीलाई राहत हुने हिसाबले रकम वृद्धि गर्ने घोषणा गरेका थिए । सोहीअनुसार मन्त्रालयले बोर्डलाई पत्राचार गरेपछि बोर्डले उक्त निर्णय गरेको कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, असार २५, २०८२  १३:०६
प्रतिक्रिया दिनुहोस्