विद्याको सक्रियता देउवाको चासो, थाहा नपाएपछि ओलीलाई गलपासो

मंगलबार, असार २४, २०८२

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किएको विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समेत चासो देखाएका छन् । 

पार्टीको हिजो सम्पन्न भएको केन्द्रीय कार्यसमितिको बैठकमा भण्डारी सक्रिय राजनीतिमा फर्किएको विषयमा नेताहरुले प्रश्न उठाएका थिए । देशको नेतृत्वदायी भूमिकामा पुगेको व्यक्ति दलको सक्रिय राजनीतिमा फर्किएको विषय कांग्रेसले नजरअन्दाज गर्न नमिल्ने नेताहरुको तर्क थियो ।

यसरी भण्डारीको सक्रिय राजनीतिलाई अनदेखा गर्न नहुने मत विमलेन्द्र निधिदेखि कृष्णप्रसाद सिटौलासम्मले बैठकमा कुरा उठाएका थिए । बैठक सकिएको भोलिपल्ट मंगलबार सभापति देउवाले प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा यही विषयमा धारणा मागेका थिए । देउवाले राष्ट्रको सर्वोच्च पदमा पुगेको व्यक्ति दलविशेषको राजनीतिमा फर्किँदा राम्रो सन्देश नगएको भन्दै ओलीको धारणा मागेका थिए ।

तर, जवाफमा ओलीले भण्डारीले एमालेको सदस्यता नवीकरण गरेको विषय आफूले पनि गरिसकेपछि मात्रै थाहा पाएको भन्दै अनभिज्ञता प्रकट गरेका थिए । विद्या भण्डारीको एमालेको राजनीतिमा फर्किएको विषय यतिवेला राष्ट्रिय राजनीतिमा बहसको विषय बनेको छ । कतिपयले अब वामपन्थीहरुबीच एकता हुनसक्ने भनेर आँकलन गरेका छन त कतिपयले ओलीकै सहमतिमा विद्या राजनीतिमा फर्किएको भनेरपनि लख काटेका छन् ।

भण्डारीले यही असार १४ गते मदन भण्डारीको जन्मजयन्तीको अवसरमा आफूले एमालेको सदस्यता नविकरण गरेको खुलासा गरेकी थिईन् । त्यस दिन प्रधानमन्त्री ओलीपनि सो कार्यक्रमको प्रमुख वक्ताको रुपमा थिए । तर, उनी स्पेन भ्रमणमा जानुपरेकोले कार्यक्रममा पहिले भाषण गरेर बाहिरिएका थिए । अहिले एमालेभित्र ओली भर्सेस भण्डारी भएको छ । नेता तथा कार्यकर्ताहरु पनि दुई कित्तामा उभिएका छन् ।

सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापतिले नै भण्डारीको राजनीतिमा फर्किएको विषयमा चासो राख्दा गठबन्धनमा झनै अविश्वास पैदा हुने हो कि भन्नेमा प्रधानमन्त्री ओली सचेत देखिएका छन् । उनले पनि भण्डारीको राजनीतिमा फर्किएको कदमलाई नमिठो मानेको कुरा कांग्रेस नेताहरुसँग गुनासो पोखेको बैठकमा सहभागी एक कांग्रेस नेताले जानकारी दिए ।

बालुवाटारमा भएको आजको भेटमा ओली र देउवाको अलावा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्रीसमेत रहेका नेता रमेश लेखक सहभागी थिए भने एमालेबाट महासचिव शंकर पोखरेल र प्रधानमन्त्री ओलीका सल्लाहकार एवम् उपमहासचिव विष्णु रिमाल सहभागी थिए ।

प्रकाशित मिति: मंगलबार, असार २४, २०८२  २२:०५
प्रतिक्रिया दिनुहोस्