सोसल मिडिया
युनिकोड
प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज आईतबार बस्ने बैठकले विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिने भएको छ। समितिले सामुदायिक विद्यालयमा राहत, करार र अस्थायी रूपमा कार्यरत शिक्षकमध्ये ६० प्रतिशतलाई मात्रै आन्तरिक प्रतिस्पर्धा गरी स्थायी गरिने सहमति जुटाएको छ। आजको बैठकले त्यसलाई विधेयकमा अटाउने भएको छ। ४० प्रतिशत भने खुला प्रतिस्पर्धाबाट स्थायी हुनेछन्।
अन्य केही विवादित विषयमा सहमति गरेर सके सम्म आजै विधेयकलाई टुंगो लगाउने समितिको तयारी छ।
विधेयकमाथि छलफल गर्न बनेको उपसमितिमा अस्थायी राहत, करारलगायत शिक्षकलाई ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाबाट स्थायी गर्ने सहमति भएको थियो। विधेयकमा उक्त दरबन्दीलाई स्वतः स्थायीमा रूपान्तरण गर्दै ५०/५० आन्तरिक/खुला प्रतिस्पर्धाबाट स्थायी गर्ने प्रस्ताव छ । सरकार र शिक्षक महासंघबीच ७५ आन्तरिक र २५ प्रतिशत खुला प्रक्रियाबाट स्थायी गर्ने सहमति भएको थियो।
समितिको आजको बैठकले ६०/४० लाई नै सदर गर्ने पक्कापक्की छ। प्रारम्भिक बाल विकास शिक्षा विद्यालय संरचनाभित्र रहने टुंगो लागेको छ। बाल विकास शिक्षक भन्नुपर्छ सहजकर्ता भन्नुहुँदैन भन्नेमा पनि सांसद एक मत छन्। यी सबै विषयलाई आजै टुंगो लगाईने छ।
असार महिनामा २३, २४, २५, २९, ३० र ३१ गते प्रतिनिधिसभाको बैठक बस्ने भएको छ। आजको बैठकले विधेयक टुंगो लगाए भोलिको प्रतिनिधिसभा बैठकमा शिक्षा विधेयक टेबुल हुनेछ। भोलि या त २५ गते भित्र टेबुल भएमा ३१ गते सम्ममा विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभा बाट पारित हुन सक्छ।