विद्यालय शिक्षा विधेयकको विवादित दफा टुंगो लगाउन डाकियो बैठक

आइतबार, असार २२, २०८२

प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दै छ । आईतबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको समितिका सभापति अम्मरबहादुर थापाले जानकारी दिए । उनका अनुसार आजको बैठकले विद्यालय शिक्षा विधेयकको विवादित दफामा सहमतिको प्रयास गरिनेछ ।

विधेयक टुंगोमा पुर्‍याउन समितिको बैठक बसेको बस्यै छ। समितिबाट आजै पारित गरेर विधेयक प्रतिनिधिसभामा एक दुई दिन भित्रै पेस गरिनेछ । शिक्षकलाई सरकारले यसअघि विधेयक असार १५ भित्र पारित गरिने आश्वासन दिएको थियो ।

“असार २३ गतेको प्रतिनिधिसभामा पेस गर्न सकिन्छ कि सकिँदैन, २३ गते नभ्याए २४ वा २५ गते प्रतिनिधिसभामा पेस हुन्छ,” सभापति थापाले भने । 

यही असार १६ गते अन्तिम सहमति जुटाउन भन्दै समितिको बैठक बसेको थियो । तर, शिक्षामन्त्री रघुजी पन्तले नेपाल शिक्षक महासंघसँग वार्ता नमिलेको बताएपछि विधेयक समितिमा रोकिएको थियो ।

विशेष गरी पदपूर्तिको विषयमा सहमति जुट्न सकेको छैन । संसदीय समितिमा ६० आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने सहमति छ । तर, शिक्षकले ७५ आन्तरिक र २५ प्रतिशत खुलाबाट पदपूर्ति गर्नुपर्ने अडान राखेका छन् ।

प्रकाशित मिति: आइतबार, असार २२, २०८२  ०६:१८
प्रतिक्रिया दिनुहोस्