एकै जिल्लाका मन्त्री र सचिवको टसलले कसरी हरायो सिंहदरबारभित्रैबाट गाडी ?

शुक्रबार, असार २०, २०८२

देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्रै बाट अनेक किसिमको चोरी हुने गरेका समाचार बेलाबखत आउने गरेका थिए। कहिले उपसचिवले ल्यापटप चोरेको त कहिले ड्राईभरले गाडीको पाङ्ग्रा नै गायब पारेको समाचार अलि पहिल्यै सार्वजनिक भएको थियो। तर अहिले भने एउटा सग्लो गाडी नै हराएपछि खोजिदिन हारगुहार गर्दै तालुकदार अड्डामा पत्राचार सम्म गरिएको छ। 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको गाडी सिंहदरबार भित्रैबाट हराएको छ । मन्त्रालयको स्वामित्वमा रहेको प्रदेश ३–०१–००२ झ ५३६७ नम्बरको महिन्द्रा स्कोर्पियो–एस फोर सरकारी गाडी सिंहदरबार परिसरबाट हराएको हो ।

मन्त्रालयबाटै गाडी हराएपछि उक्त गाडी खोजिदिन उसले प्रहरी प्रधान कार्यालय र उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ काठमाडौंलाई पत्र पठाएको छ । मन्त्रालयले असार १५ गते गाडी हराएको भन्दै सचिवस्तरीय निर्णय गरेर खोजीका लागि पत्राचार गरिएको हो ।

‘यस मन्त्रालयको स्वामित्वमा रहेको तपसिलको विवरण अनुसारको चारपाङ्ग्रे सवारीसाधन विगत केही समय अघिदेखि हराइरहेको हुँदा उक्त सवारीसाधन जहाँ जस्तो जुन अवस्थामा छ, खोजतलास गरिदिनुहुन साथै प्रचलित कानुनबमोजिम सो कार्यमा संलग्न रहेका व्यक्तिलाई मुद्दा दर्ता गरी अनुसन्धान कारबाही अगाडि बढाइदिनुहुन असार १५ गतेको (नेपाल सरकार सचिवस्तर) निर्णय अनुसार अनुरोध गरिन्छ’ पत्रमा भनिएको छ ।

गृह मन्त्रालयका सहसचिवसमेत रहेका प्रवक्ता रामचन्द्र तिवारीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको गाडी खोजिदिन प्रहरीमा पत्र पठाइएको बताए । उनले यसबारे अहिलेसम्म प्रहरीबाट कुनै जानकारी प्राप्त नभएको जानकारी दिएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णहरि पुष्कर कर्णले उक्त गाडी खोजिदिन हारगुहार गरेर पत्राचार नै गरे पनि श्रम मन्त्री शरत्सिंह भण्डारीले भने हराएको भनिएको गाडी मन्त्रालयका सचिवको घरमै रहेको बताएका छन्। 

मन्त्री भण्डारीका अनुसार गाडी प्राप्त भइसकेको छ।  मन्त्रीले भने गाडी हराएको नभइ केही व्यक्तिले स्टन्टबाजी गरेको आरोप लगाएका छन् । मन्त्री भण्डारीका अनुसार सचिवकै कारण गाडी हराएको हो।

हुन पनि महोत्तरी घर भएका मन्त्री भण्डारी र सचिव कर्णको टसल गाडी हराएको काण्ड बाट सतहमा आएको हो। मन्त्री भण्डारीले सचिव कर्णको सरूवा गर्न पटक-पटक प्रयास गरेपनि प्रधानमन्त्री र मुख्यसचिवले नमानेपछि भण्डारी र कर्णको द्वन्द थप बढेको हो। खासमा उक्त गाडी मन्त्रीको सचिवालयले प्रयोग गर्दै आएको छ। केही दिन पहिले सो गाडी महोत्तरीमा थियो। त्यहि बेला सचिवले गाडी हराएको भन्दै खोज्न पत्राचार गरेका हुन्। 

प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२  ११:३५
प्रतिक्रिया दिनुहोस्