राज्य व्यवस्थाका सभापति रामहरिले गाडी त्यागे, सचिव दुराले पदै त्यागे

शुक्रबार, असार २०, २०८२

निजामती सेवा विधेयकमा राज्य व्यवस्था समितिले पास गरेको भन्दा फरक दफा घुसाएर प्रतिनिधिसभाबाट पारित भएपछी उध्रिएको काण्डले यतिबेला सिङ्गै देशै तातेको छ। कुलिङ्ग पिरियड सम्बन्धि व्यवस्था हटाईएको भनिए पनि त्यो पास भएको विधेयकमा झन् प्रष्ट देखिएपछि अहिले समितिका सभापति र सचिव सबैको आँखाको तारो बनेको छन्। 

राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडाले कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्न संसदीय समिति बनेपछि आफू समितिमा नजाने घोषणा गरेका छन्। सभापतिको हैसियतले पाउने गाडी पनि नचढ्ने उनको भनाइ छ। समितिका सचिव सुरजकुमार दुराले भने जिम्मेवारी छाडिसकेका छन्।

बुधबारको बैठकमा सांसदहरूले दुरालाई प्रतिवेदन लेखेको नैतिक जिम्मेवार ठहर्‍याउँदै अब समितिमा सचिव स्विकार्न नसकिने र यो जिम्मेवारीबाट हट्न भनेका थिए। सांसदहरूको मागपछि दुराले समिति छाडेका हुन्। सहसचिव हुँदा समिति सचिव रहेका दुरा हालै सचिव पदमा बढुवा भएका थिए भने उनलाई संसदीय अध्ययन तथा अनुसन्धान महाशाखामा पदस्थापन गरिएको थियो।

तर, समिति सभापति खतिवडाले निजामती विधेयकमा राम्रो काम गरेको भन्दै प्रहरी विधेयक सकाउँदासम्म समिति सचिवकै रूपमा काम गर्न दुरालाई रोकेका थिए। ‘मलाई समिति छोड भन्नुभयो, मैले छोडेँ,’ सचिव दुराले भने। दुरा र सभापति खतिवडा तर्फ शंकाको सुई सोझिएको छ। प्रधानमन्त्री केपी ओली स्पेन बाट आज नेपाल उत्रिएपछि यस विषयमा थप कुरा हुने बुझिएको छ। कांग्रेस सभापति शेर बहादुर देउवा र ओली बीच भोलि शनिवार भेटेर थप कुरा हुने बुझिएको छ। 

प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२  ११:०४
प्रतिक्रिया दिनुहोस्