माधव नेपाललाई वचनी अगुल्टो हानेकी झाँक्रीलाई झारफुक गर्न को-को चम्किए ?

बिहीबार, असार १९, २०८२

नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठकमा स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीलाई कारबाही गर्नुपर्ने पक्षमा नेताहरू उभिएका छन् । बिहीबारको सचिवालय बैठकमा झाँक्रीले अध्यक्ष माधवकुमार नेपालबारे दिएको अभिव्यक्तिका विषयमा छलफल भएको थियो । 

पार्टी उपमहासचिव मेटमणि चौधरीले उनले दिएको अभिव्यक्तिबारे बैठकमा ब्रिफिङ गरेका थिए । नेताहरूले उनलाई कारबाही राख्नुपर्ने मत बैठकमा राखेका छन् । “पार्टी र नेतृत्वबारे उहाँको अभिव्यक्ति निकै गम्भीर छ । कारबाही गर्नुपर्छ भन्ने कुरा उठ्यो,” एक नेताले भने, “उहाँलाई कारबाही गर्नुपर्छ भन्नेमा प्रायः नेताहरू सहमत देखिनुभएको छ ।”

गएको शनिबार पार्टीको एक कार्यक्रममा झाँक्रीले अध्यक्ष नेपालप्रति गम्भीर प्रश्न उठाउँदै संकटबाट भाग्न नहुने बताएकी थिइन् । “पार्टीमा संकट छ । अध्यक्षकै बारेमा संकट आयो । अब के गर्ने ?,” उनले भनेकी थिइन्, “पार्टीलाई पुनर्गठन गरेर अघि बढ्ने हो । संकट आयो भनेर भाग्ने भनेको होइन ।”

झाँक्रीले काँधमा ‘सिनो’ राखेर जान नसकिने टिप्पणी समेत गरिन् । “अब अर्ली महाधिवेशन गरौँ । कानुनी संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आयो । कयौँ पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ,” झाँक्रीले भनेकी छन्, “अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन ।”

उनको अभिव्यक्तिले तरंग पैदा गरेको थियो । पार्टीले स्पष्टीकरण सोधेको नेताहरूको अभिव्यक्तिपछि उनले आफूलाई पत्र नपाइपुगेको भन्दै बिहीबार पार्टी कार्यालय आलोकनगर पुगेकी थिइन् । उनले सचिवालय बैठकमा नै आफूले बोल्नुपर्ने माग समेत गरेकी थिइन् । 

उपाध्यक्ष जगन्नाथ खतिवडाले पार्टीको अनुशासन आयोगले झाँक्रीलाई स्पष्टीकरण सोधेको बताए । “पार्टीको अनुशासन आयोगले उहाँलाई स्पष्टीकरण सोधेको छ । त्यसले निश्चित समय लिएको छ र त्यो समयानुसार उहाँले स्पष्टीकरण दिनुहुनेछ भन्ने हामीलाई विश्वास छ,” उनले भने ।

अर्को बैठक २२ गते बस्ने तय भएको छ । स्पष्टीकरणको जवाफ आएपछि निर्णय गरिने नेताहरूको भनाइ छ । 

प्रकाशित मिति: बिहीबार, असार १९, २०८२  २०:३०
प्रतिक्रिया दिनुहोस्