सोसल मिडिया
युनिकोड
मध्यरातमा सर्वोच्च अदालतको संवैधानिक इजलास भरिभराउ भएको छ । संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिविरुद्ध परेको रिटको फैसला आउने भएपछि इजलास भरिभराउ भएको हो ।
अदालत स्रोतका अनुसार बुधबार मध्यरातको १२ नबज्दै फैसला सुनाउने तयारीस्वरुप संवैधानिक इजलास बस्ने तयारी छ ।
न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी सम्मिलित इजलासले मुद्दामा फैसला सुनाउनेछ । इजलासले यी मुद्दामा गत ३० माघ, २१ फागुन र ६ चैतमा सुनुवाइ गरेको थियो । त्यसपछि ३, ७, ८, ९, १०, २८ र ३० वैशाखमा हेर्दाहेर्दैमा राखी सुनुवाइ सकेको थियो । १ जेठमा अन्तिम सुनुवाइपछि २८ जेठका लागि निसु तोकिए पनि फेरि १८ असारका लागि धकेलिएको हो ।
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा रहेको गणपूरक संख्याको व्यवस्था संशोधन गरी दुईपटक तत्कालीन सरकारले विभिन्न संवैधानिक पदमा ५८ नियुक्ति सिफारिस गरेको थियो । जसमध्ये पाँचजनाले नियुक्ति बुझेका थिएनन् । नियुक्त भएकाको कार्यकाल ६ वर्षको रहने गरेकोमा पाँचाँै वर्षमा बल्ल यो मुद्दामा निर्णय आउन लागेको हो ।
तत्कालीन प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ती अध्यादेश जारी गरेकी थिइन् । ०७७ मंसिर ३० मा अध्यादेश ल्याई ३८ जनाको नाम सिफारिस गरिएको थियो । यसैगरी ०७८ वैशाख २१ मा पनि यस्तै अध्यादेश ल्याइयो र विभिन्न पदमा २० जनाको नाम सिफारिस गरियो । दुवैपटकका नियुक्तिविरुद्ध परेका रिटहरूमा एकैपटक फैसला आउन लागेको छ ।
१ जेठमै सुनुवाई सकिएपछि अहिलेसम्म फैसला आउन सकेको छैन । फैसला सुनाउने मिति सारेर समेत समयमा सर्वाेच्चले फैसला दिन सकेको छैन ।