विद्या भण्डारीको बढ्यो तीब्र गति, फिर्ता गरिन् राज्यले दिएको सुविधा जति 

बुधबार, असार १८, २०८२

एमालेमा फर्किएकी विद्या भण्डारीले पूर्वराष्ट्रपतिका हैसियतमा सरकारले दिने सेवासुविधा फिर्ता गर्न भन्दै गृह मन्त्रालयमा निवेदन दिएकी छिन् ।

उनले आजैका मितिबाट लागू हुनेगरी सेवासुविधा फिर्ता गर्न गृहमा निवेदन दिएको उनका सचिवालयका एक जनाले जानकारी दिए । उनका अनुसार सरकारले दिएको सचिवालय सुविधालगायतका सुविधा फिर्ता गर्न निवेदन दिएकी हुन् । घरभाडा र गाडी भने उनले यसअघि पनि नलिएको सचिवालयले जनाएको छ । सरकारले उनका दुई स्वकीय सचिवको तलब र सुरक्षाकर्मी बस्ने घरको भाडा दिने गरेको छ ।

गृह मन्त्रालयका सूचना अधिकारी रवीन्द्र आचार्यले पनि भण्डारीको निवेदन आएको पुष्टि गरे । सुरक्षा बाहेकका सुविधा आजैका मितिदेखि लागू हुने गरी फिर्ता गर्न निवेदन आएको बताए ।

भण्डारीले यही १४ असारमा मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममार्फत आफूले एमाले संगठित सदस्यता नवीकरण गरेको जानकारी दिएकी थिइन् । साथै उनले अब आफू एमाले परिवारको सदस्य भएको बताएकी थिइन् ।

भण्डारीले एमालेको आगामी महाधिवेशनबाट अध्यक्ष हुने तयारीका साथ आफ्ना गतिविधि बढाइरहेकी छिन् ।

प्रकाशित मिति: बुधबार, असार १८, २०८२  २१:२३
प्रतिक्रिया दिनुहोस्