कर्मचारीको अन्तर प्रदेश सरुवा खुला, अब चक्रीय प्रणालीमा सरुवा

आइतबार, असार १५, २०८२

सरकारले निजामती कर्मचारीको अन्तर प्रदेश सरुवा खुला गरेको छ ।

प्रतिनिधिसभाले आज असार १५ गते पारित गरेको संघीय निजामती सेवा विधेयकमा सरकारले अन्तर प्रदेश सरुवाको बाटो खुला गरेको हो। 

सम्बन्धित प्रदेशको सहमतीमा पारिवारिक, स्वास्थ्यजन्य र विशेष कारणले कर्मचारीलाई राहत दिने उद्धेश्यसहित सरुवाको प्रावधान समेटिएको सरकारको भनाइ छ । अब स्थानीय तहका कर्मचारीले आफ्नो अनुकुल रहनेगरी अन्तर प्रदेश सरुवा गर्न पाउने भएका हुन् । 

यस्तै विधेयकले महिनै पिच्छे कर्मचारीको सरुवा हुने परिपाटीको अन्त्य गर्दै चक्रीय प्रणालीमा सरुवाको व्यवस्था मिलाएको छ । विधेयकमा निजामती कर्मचारीको अवकाश अवधिलाई दुई वर्ष बढाएर ६० वर्ष पुर्‍याइएको छ । 

यस्तै विधेयकले कर्मचारीहरुको कुलिङ पिरियड २ वर्ष हुने व्यवस्था पनि गरेको छ । विधेयकले अतिरिक्त सचिवको व्यवस्था गर्दै सचिवालयस्तरमा कार्याभार व्यवस्थापन र नीतिनिर्माण प्रक्रियामा विकेन्द्रिकृत दक्षता विकास गर्न मद्दत पुग्ने विश्वास सरकारको छ ।

प्रतिनिधिसभाले उक्त विधेयक हुबहु पास गरेको हो।

अब यो विधेयक राष्ट्रिय सभामा पठाइनेछ। त्यहाँबाट पुनः प्रतिनिधि सभामा आउने छ। प्रतिनिधि सभाले प्रमाणिकरणका लागि राष्ट्रपति कार्यालय पठाउनेछ।

राष्ट्रपतिले प्रमाणिकरण गरी राजपत्रमा प्रकाशित भएपछि ऐन कार्यान्वयनमा आउनेछ।  

प्रकाशित मिति: आइतबार, असार १५, २०८२  १५:५४
प्रतिक्रिया दिनुहोस्