सोसल मिडिया
युनिकोड
संसदीय सुनुवाइ समितिमा सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध पाँच वटा उजुरी परेको छ ।
सिंहदरबारमा बिहीबार बसेको समिति बैठकमा प्रस्तावित न्यायाधीशविरुद्ध परेका उजुरी खोलिएको थियो । जसमध्ये तीन न्यायाधीशविरुद्ध पाँच वटा उजुरी परेको समिति सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन् ।
त्यस्तै, समितिको कार्यक्षेत्रभित्र नपर्ने अन्य दुईवटा उजुरीसमेत प्राप्त भएको उनले बताइन् । उजुरीका विषयमा छलफल गर्न शुक्रबार बस्ने समिति बैठकमा उजुरीकर्तालाई बोलाइएको सभापति न्यौपानेले जानकारी दिइन् ।
उजुरीकर्तासँग छलफल गरेपछि असार १५ गते प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ गर्ने समिति सचिवालयको कार्यतालिका पारित भएको छ । यही जेठ २७ गते बसेको न्याय परिषद् बैठकले वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई सर्वोच्चको न्यायधीश पदमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।
त्यस्तै, न्यायपरिषद् सदस्यमा सिफारिस महेशकुमार नेपालको संसदीय सुनुवाइ पनि सँगसँगै अघि बढ्ने समितिले जनाएको छ । नेपालविरुद्ध कुनै पनि उजुरी नपरेको सभापति न्यौपानेले बताइन् ।