सोसल मिडिया
युनिकोड
उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्का चीन उडेपछि उर्जा मन्त्रालय सुर्ताएको छ। चीनको झेजियाङ प्रान्तको निङ्बो शहरमा आयोजित सांघाई को–अपरेशन अर्गनाइजेशनको पाँचौं उर्जामन्त्रीस्तरीय बैठकमा सहभागी हुन उनी सोमबार राति चीन गएका हुन्।
मन्त्रालयको मूली उत्तर लागेपछि राज्यमन्त्री र दुई सचिव पनि लाखापाखा लागेका छन्। नयाँ राज्यमन्त्री खमबहादुर गर्बुजा गृहजिल्ला म्याग्दी हिडेका छन्। दुई सचिव मध्येका उर्जा सचिव सुरेश आचार्य भारत भ्रमणमा निस्किएका छन्। ५८ वर्षे उमेर हदका कारण भदौ ५ गतेदेखि घर जाने तयारीमा रहेका उनी मन्त्री उत्तर लागेपछि दक्षिण हान्निएका हुन्।
यता, जलस्रोत तथा सिंचाइ सचिव सरिता दवाडी चाँही दलबल सहित पूर्वी नेपाल तिर निस्किएकी छिन्। कोशी प्रदेशको राजधानी बिराटनगर सहित प्रधानमन्त्रीको जिल्ला झापा सम्म पुग्ने बताईएको छ। नेपाल सरकारका सचिवहरू मध्ये सबैभन्दा कान्छी दवाडी मन्त्री नभएका बेला अनुगमनमा निस्किएकी हुन्।
मन्त्रालयका प्रवक्ता सागर गौतम सहितलाई च्यापेर मन्त्री चीन हिडेपछि उर्जा मन्त्रालयका कर्मचारी बिन्दास छन्। धेरै बिदा लिएर डुल्न निस्किएका छन् भने भएकालाई पनि हाईसन्चो छ।