अख्तियारले हायर गर्यो निजी वकिल, सुशीलले माधवको विपक्षमा बहस गर्ने 

बुधबार, असार ११, २०८२

पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको पतञ्जली जग्गा प्रकरणमा अनियमितता गरेको अभियोगमा दर्ता भएको मुद्दामा बहस गर्न अख्तियारले निजी वकिल पनि हायर गरेको छ।

आयोगले वरिष्ठ अधिवक्ता सुशील पन्तलाई बहसका लागि उपस्थित गराउने भएको हो।

सरकारका तर्फबाट सरकारी वकिलहरुले थुनछेक बहस गर्नेछन्। त्यसपछि नेपालको तर्फबाट वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, गोविन्द बन्दी र अधिवक्ता कपिल ढकालसहितले बहस गर्नेछन्।

अहिले विशेष अदालतमा नेपालको बयान भइरहेको छ। नेपालको मुद्दा विशेष अदालतको इजलास नं. २ मा परेको हो।

नेपालले यसअघि ‘अदातलमा उपस्थित हुन पाऊँ’ भन्दै अदालतमा निवेदन दर्ता गराएका थिए। सोहीअनुसार उनी आज अदालतमा उपस्थित भएका हुन्। उनको बयान सकिएपछि थुनछेक बहस हुनेछ।

पताञ्जली जग्गा सट्टापट्टा प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालविरुद्ध गत २२ जेठमा विशेष अदालतमा मुद्दा दर्ता भएको थियो। नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। नेपालसँग १८ करोड ५८ लाख ५० हजार बिगो माग दाबी भएको छ।

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  १३:०७
प्रतिक्रिया दिनुहोस्