सोसल मिडिया
युनिकोड
हातहातै मन्त्रीस्तरको राष्ट्रिय सुरक्षा सल्लाहकारको नियुक्ति पाएर मुख्यसचिव त्यागेका शंकरदास बैरागीले ‘सेटिङ’ मा सचिव बैकुण्ठ अर्याललाई मुख्यसचिव सुम्पिए। जतिबेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड थिए। अहिले तिनै ‘सेटिङ’का सरदार बैरागीलाई भिजिट भिषा काण्ड केलाउने समितिको मुखिया बनाईएको छ।
‘सेटिङ’बाट १५ असोज २०७७ मा मुख्यसचिव बनेका बैरागीलाई भने हालका अमेरिकाका नेपाली राजदूत लोकदर्शन रेग्मीले ठाउँ खाली गरिदिएका थिए।
अघिल्ला मुख्यसचिव रेग्मीलाई बेलायतको राजदूत बनाएर तत्कालीन प्रधानमन्त्री केपी ओलीले बैरागीलाई मुख्यसचिव नियुक्त गरेका थिए । ५ कात्तिकमा सेवानिवृत्त हुन लागेका रेग्मीले रोजेको मुलुकमा राजदूत नियुक्तिका लागि बार्गेनिङ गरेका थिए । ओली प्रेमकुमार राईलाई मुख्यसचिव बनाउन चाहन्थे । त्यसैले २३ जेठ २०७६ मै रेग्मीलाई अस्ट्रेलियाको राजदूत हुन प्रस्तावसमेत गरेका थिए । तर, रेग्मीले अमेरिकाको राजदूत पाए मात्र जाने अड्डी कसे ।
घर फर्किनुभन्दा २० दिनअघि बेलायतको राजदूत पाएपछि उनले मुख्यसचिव छाडेका थिए । बैरागी पनि नियमित अवकाश हुनुभन्दा ६ दिनअघि मुख्यसचिव बने । २२ असोज २०७२ मा एकैदिन सचिवमा नियुक्त बैरागी, केदारबहादुर अधिकारी र मोहनकृष्ण सापकोटा २१ असोज २०७७ मा सेवानिवृत्त हुँदै थिए । त्यतिबेला रेग्मीले तीन वर्षे कार्यकाल पूरा गरेको भए वरिष्ठताका आधारमा चन्द्रकुमार घिमिरे मुख्यसचिव हुने थिए । घिमिरे अहिले बेलायतको राजदूत छन्।
संसदमा बोल्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा सांसद स्वर्णिम वाग्लेले भने, 'शंकरदास बैरागी १० वर्षदेखि स्थायी सत्ताको प्रियपात्र हुन् ।' सांसद वाग्लेले बैरागीमाथि केही यस्ता घटनासँग जोडे, जसले नेता–कर्मचारीको कनेक्सनमा कथा मात्रै बताउँदैन, सामाजिक चित्र पनि देखाइरहेको छ ।
कर्मचारीमा देखिएको पदलोलुपताको पराकाष्ठाको एउटा उदाहरण पनि हुन् बैरागी । वाग्लेले भनेजस्तै बैरागीले लामो समय परराष्ट्र सचिवको रूपमा काम गरे । सचिवबाट अवकाश हुन केही समय बाँकी हुँदै सेटिङमा मुख्य सचिव भए । अनि मुख्य सचिव पनि सेटिङमै छोडे । अनि, हुँदै नभएको पद सिर्जना गरेर राष्ट्रिय सुरक्षा सल्लाहकार भए ।
सांसद वाग्लेले भनेजसस्तै, परराष्ट्र सचिवपछि तीन वर्ष मुख्य सचिव बने । अनि, रहस्यमय ढंगले बहिर्गमन भएर राष्ट्रिय सुरक्षा सल्लाहकार बने । त्यसपछि भोलिपल्टै अवकाश हुन लागेका अर्याल मुख्य सचिव हुन्छन् । र, त्यही अवधिमा अर्बौंको टेलिकम माफियाद्वारा रचिएका घोटालाहरू भएका छन् ।
बैरागी सिंहदरबारबाट बाहिरिनु एक दिनअघि ३२ जेठ २०८० को बिहान सचिव वैकुण्ठ अर्याल मुख्य सचिव नियुक्त भए । साढे तीन महिना कार्यकाल बाँकी छँदै मुख्य सचिव बैरागीले त्यतिबेलाको कांग्रेस र माओवादी गठबन्धनको सेटिङमा अर्यालका लागि बाटो खुला गरेका थिए । अर्याल मुख्य सचिव बनाएका कांग्रेसले पहिलादेखि प्रयास गरेको थियो । बैरागीले पूरै कार्यकाल मुख्य सचिव हुँदा सूर्यप्रसाद गौतमलगायत अरु सचिवहरू मुख्य सचिवको लाइनमा आउने थिए ।
अझै राजदूत हुने रहर पालेर बसेका बैरागीलाई नै छानबिन समिति जिम्मा लगाईए पछि झन् शंका बढेको छ। ‘सेटिङ’ मा पोख्त बैरागीले झन् कडा भिजिट भिषा काण्डको छानबिन गर्ने बिषय भनेको दुधको छानबिन गर्ने जिम्मा बिरालोलाई दिनु जस्तै भएको एकथरिको चर्चा छ। राजदूत ताकेर बसेका बैरागीले गर्ने छानबिन कस्तो हुन्छ त्यो हेर्न भने एक महिना पर्खनु पर्ने भएको छ।