कर्मचारीको तलब कम हुँदा भ्रष्टाचार बढिरहेको पूर्व सामान्य प्रशासन मन्त्रीको दाबी

शनिबार, असार ७, २०८२

पूर्व सामान्य प्रशासन मन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र)का सांसद अमनलाल मोदीले कर्मचारीको तलब कम हुँदा भ्रष्टाचार बढिरहेको उनले जिकिर गरेका छन्। बजेट माथिको छलफलमा भाग लिंदै मोदीले कर्मचारीले भोगेको दुखेसो सुनाएका हुन्। 

उनले थोरै समयमा धेरै मन्त्रालयको खर्च कटौतीमा टिप्पणी गर्नुपर्ने अवस्थामा समय कम भएको भन्दै सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन् ।

शनिबार (असार ७) प्रतिनिधिसभा बैठकमा विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले बैठकमा मन्त्रीहरू नआउने र मन्त्रालय थप्दै जाने भए समय पनि बढाउन आग्रह गरे । उनले संघीय निजामती ऐन संसद्‌मा पेस भएर पनि नआउँदा दुःख लागेको बताए ।

आफू मन्त्री भएको समयमा कर्मचारीको तलब वृद्धिका निम्ति कार्यदल बनाइएको भए पनि त्यो हाल नदेखिएको उनले उल्लेख गरे । कर्मचारीको तलब कम हुँदा भ्रष्टाचार बढिरहेको उनले जिकिर गरे ।

उनले सरकारले आन्दोलनरत शिक्षकसँग वार्ता र सम्झौता गरेर शिक्षा ऐन ल्याउने भने पनि संसद्‌मा अझै विधेयक नल्याइएको भन्दै आपत्ति जनाए । मोदी कर्मचारीलाई सुविधा बढाएर काम लिनु पर्ने र सुशासन कायम गराईनु पर्ने पक्षमा जोड तोडले लाग्दै आएका नेता हुन्। 

प्रकाशित मिति: शनिबार, असार ७, २०८२  १७:२६
प्रतिक्रिया दिनुहोस्