रास्वपालाई योगेश भट्टराईको तितो शुभकामना, अहिले छौं मस्त अब हुन्छौ ध्वस्त

शनिबार, असार ७, २०८२

नेकपा एमालेका सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बजेट छलफलमा सहभागी नभएकोमा दुख व्यक्त गरेका छन् । शनिवार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संसद्प्रति यी दलहरूको विश्वासमाथि प्रश्न उठाए ।

‘हामी संसद्मा विनियोजन विधेयक र नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदैनौँ भन्नुले संसद्प्रति उहाँहरूको विश्वास छ कि छैन भन्ने गम्भीर प्रश्न उठ्छ,’ भट्टराईले भने ।

भिजिट भिसा प्रकरणलाई सामान्य विषय ठान्दै उनले यो मुद्दा संसद्मा उठेपछि छलफल भएको र सहमति भएको स्मरण गरे । रास्वपासहितको छलफलमा छानबिनका लागि ससमयीमा तोक्ने प्रस्ताव आएको, तर रास्वपाले समय मागेर पुनः छलफलमा नआएको उनले बताए । बरु, रास्वपा सिधै संसद्को वेल घेराउमा उत्रिएको भन्दै उनले प्रश्न गरे, ‘उहाँहरूले के गर्न खोज्नुभएको हो, हामीले बुझ्न सकेनौँ । संसद्प्रति विश्वास नभए त्यो बेग्लै कुरा हो ।’

रास्वपाको स्थापना दिवसको अवसरमा शुभकामना दिँदै भट्टराईले व्यङ्ग्य गरे, ‘कांग्रेस र एमाले बिग्रिएको भन्नुहुन्छ, तर हामीलाई बन्न र बिग्रन समय लाग्यो । तपाईँहरू छिट्टै बनेर छिट्टै बिग्रँदै हुनुहुन्छ । स्थापना दिवसमा यो समीक्षा गर्नुहोला ।’ उनले रास्वपालाई कालो कपडा लगाएर संसद्मा प्रधानमन्त्रीको अपमान गरेको आरोप पनि लगाए ।

भिजिट भिसा प्रकरणमा माओवादी केन्द्रसँग भएको दुईबुँदे सहमति तत्काल कार्यान्वयन गर्न गृहमन्त्री रमेश लेखकलाई आग्रह गर्दै भट्टराईले यो कार्यान्वयनले संसद्को अवरोध हटाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति: शनिबार, असार ७, २०८२  १७:१६
प्रतिक्रिया दिनुहोस्