सोसल मिडिया
युनिकोड
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ‘भिजिट भिसा’ अहिलेको मात्र समस्या नभएको बताएका छन् । प्रेस सेन्टर चितवनले आज प्रचण्ड निवास शिवनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमाउनले भिजिट भिसा समस्या २०६४ सालदेखि भएको बताएका हुन्। प्रचण्डले भने, ‘यो २०६४ सालदेखि चल्दै आएको छ भन्ने कुरो तपाईंहरुले पनि थाहा पाउनुभएको छ र हामीले पनि थाहा पाएकै छौँ ।’ यस विषयमा छानबिन र नीतिगत सुधार गर्नुपर्ने उनको भनाइ छ ।
यो मुद्दालाई त्यत्तिकै नछाड्ने उनले बताए । यसका लागि जरुरी परे संविधान संशोधन, ऐन निर्माण र नीतिगत निर्णय गर्नु परे पनि गरिने उनको धारणा छ । उनले भने, ‘मैले छोडेर पनि यो मुद्दा नेपाली जनताले छाड्ने कुरा हुँदैन ।’प्रचण्डले आफूहरु प्रतिपक्षमा भए पनि सत्ता पक्षको जस्तो भूमिका निर्वाह गर्दै आएको बताए । उनले भने, ‘हामीले संविधानका निम्ति, ऐन कानुनका निम्ति, सिस्टमका निम्ति सत्तापक्षको भूमिका खेल्नुपर्ने बाध्यता छ ।’
अध्यक्ष प्रचण्डले बजेट पारित गर्नुपर्ने, संघीय निजामती सेवा ऐन र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने, शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्ने लगायतका जिम्मेवारीबोधका साथ ३० दिनभित्र छानबिन समिति बनाउने सर्तमा संसद्को अवरोध खुलाउन सहमति गरिएको स्पष्ट पारे ।