कार्यसूचीमा प्रवेशै नगरी अवरुद्ध हुँदै आएको संसद बैठक के हुन्छ आज ?

शुक्रबार, जेठ ३०, २०८२

विगत दुई साता भन्दा लामो समयदेखि कार्यसूचीमा प्रवेशै नगरी अवरुद्ध हुँदै आएको संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आजका लागि पनि बोलाइएको छ।

बैठक शुक्रबार अपराह्न ३ बजे बस्नेगरी समय निर्धारण गरिएको संसद् सचिवालयले जनाएको छ। भिजिट भिसा प्रकरणमा गृहमन्त्री पनि जोडिएको आरोप लगाउँदै विपक्षी दलहरुले जेठ १३ गतेदेखि लगातार प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्दै आएका छन्। 

विपक्षी दलहरुको अवरोधको कारण प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नै नगरी स्थगित हुँदै आएको छ। माओवादी केन्द्रसहितका विपक्षी दलले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक पनि जोडिएको भन्दै उनको राजीनामा माग गर्दै आएका छन्। 

पटकपटकका छलफलपछि अब सहमतिको नजिक पुगिएको नेताहरुले बताउन थालेका छन्। तर अहिलेसम्म दलहरुबीच संसद् खोल्नेगरि ठोस सहमती चाहीँ भइसकेको छैन।

ठोस सहमती नभइसकेकाले आज पनि बैठक सञ्चालन हुने नहुने निश्चित छैन। बिहीबार साँझ बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षमा रहेका सांसदहरू उठेर विरोध जनाएपछि बैठक स्थगित भएको थियो। 

विपक्षीले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा, संसदीय छानबिन समिति गठनलगायत माग गर्दै आएका छन्। 

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  १०:०७
प्रतिक्रिया दिनुहोस्