निजामती विधेयक आज प्रतिनिधिसभामा पुग्दै, बस्ला बैठक ?

बुधबार, जेठ २८, २०८२

‘भिजिट भिसा’ प्रकरणमा निरन्तर अवरुद्द संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । 

जेठ २० गतेदेखि बैठक बोलाइए पनि विपक्षी दलको अवरोधका कारण बस्न सकेको छैन । जेठ १३ गतेदेखि लगातार प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आएको छ ।

जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न दिए पनि २० गतेबाट बोलाइएका कुनै पनि बैठक कार्यसूचीमा प्रवेश गर्न सकेका छैनन् । 

सहमतिका लागि दलहरुबीच पटकपटक छलफल भए पनि निष्कर्ष निस्कन सकेको छैन । त्यसैले आजको बैठक पनि नियमित कार्यसूचीमा प्रवेश गर्छ कि गर्दै भन्ने निश्चित छैन । 

आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२ ’ पेस गर्ने कार्यसूची छ । 

त्यस्तै, सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रहरुबारे जानकारी गराउने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।  

प्रकाशित मिति: बुधबार, जेठ २८, २०८२  ०७:२२
प्रतिक्रिया दिनुहोस्