भ्रष्टाचार मुद्दामा दोषी मेयरले भोटे ताल्चा लगाएपछि राजविराजमा यसरी मच्चियो बबण्डर

मंगलबार, जेठ २७, २०८२

प्रमुख प्रशासकीय अधिकृतको सरुवा झगडाको बिउ भएपछि राजविराज नगरपालिकामा रणसंग्राम मच्चिएको छ। आर्थिक अनियमितताको विषय उठेपछि त झन् उग्र ताेडफाेड नै भएकाे छ । तोडफोडपछि स्थिति असामान्य बनेको हो। 

त्यहाँका नगरप्रमुख आफैं निलम्बनमा छन्। निलम्बित नगरप्रमुख भीमराज यादवले गत आइतबार नगरपालिकामा लगाएको ताला आज मंगलबार बिहान कार्यवाहक नगरप्रमुख इसरत परबिन नेतृत्वको जनप्रतिनिधि समूहले तोडेपछि स्थिति तनावग्रस्त भएको हाे । 

ताला ताेडिएलगत्तै परबिन समूहले शिक्षा शाखाका प्रमुख भोगेन्द्र यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको रूपमा हाजिर गराएपछि निलम्बित नगरप्रमुख यादवका समर्थकहरू आन्दोलित बनेका छन् । उनीहरूले नै नगरपालिका भवनमा नाराबाजी गर्दै तोडफोड गरेका हुन् । 

तोडफोडबाट कार्यालय भवनका अधिकांश सिसा फुटाइएको छ भने वारुण यन्त्रका कर्मचारी बस्ने भवनका झ्यालका सिसा समेत फुटेको छ ।

झडपको क्रममा नगरपालिकाका लेखापाल शत्रुधन लाल दास र स्वास्थ्यकर्मी सन्ताेष दासलाई कुटपिट गरिएको थियो । दुवै जनाकाे गजेन्द्रनारायण सिंह अस्पतालमा राजविराजमा उपचार भइरहेको छ । यस्तै फोटो खिचिरहेका तीन जना सर्वसाधारणको मोबाइल खोसेर फुटाइएको छ ।

प्रहरीकै अघि भएको घटनामा कावा नगरप्रमुख परबिन चढ्ने स्करपिओ गाडी समेत तोडफोड गरिएको छ । प्रारम्भिक जानकारी अनुसार तोडफोडबाट नगरपालिका कार्यालयमा लाखौं रुपैयाँ बराबरको क्षति भएको छ।

यसअघि प्रमुख प्रशासकीय अधिकृत डा. श्रवण साहको स्थानमा भोगेन्द्र यादवलाई निमित्तकाे जिम्मेवारी दिने सुरसार गरिएपछि विरोधमा उत्रिएका निलम्बित नगरप्रमुख यादव पक्षधरले कार्यालयमा गत आइतबार ताल्चा लगाएका थिए । यसै विषयमा सोमबार दिनभर जिल्ला प्रशासन कार्यालयमा छलफल भए पनि कुनै निष्कर्ष ननिस्किएपछि अवस्था जटिल बनेको हो ।

ठेकेदार पृष्ठभुमिका निलम्बित नगरप्रमुख यादव भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट डामिएपछि परबिन कावा मेयर छिन्। त्यहाँ यस अघि पनि लफडा भएको थियो। 

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२  १८:०९
प्रतिक्रिया दिनुहोस्