सोसल मिडिया
युनिकोड
नेपाल सरकारका दुई सचिव पद रिक्त भएका छन्। प्रशासन तर्फको एक र कानून तर्फको एक गरि दुई सचिव पद रिक्त भएको हो। महालेखा नियन्त्रक रघुराम बिष्ट अनिवार्य अवकाशमा गएका कारण प्रशासन तर्फको सचिव रिक्त भएको हो। जेठ २४ गते ५८ वर्ष पूरा भएपछि बिष्टले जेठ २३ गतेसम्म कामकाज गरेर घर गएका हुन्।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटा ५ वर्ष सचिव चलाएर भोलि जेठ २८ गतेदेखि कामकाज नगर्ने गरि घरै बस्नुपर्ने भएको छ। उनले सचिवको हैसियतमा आजै सम्म मात्र कामकाज गर्नेछन्।
२०७७ जेठ २८ गते नेपाल न्याय सेवा, कानुन समूहको सचिवमा बढुवा भएका सापकोटाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सत्य निरूपण तथा मेलमिलाप आयोगको सचिवको भूमिकामा समेत काम गरिसकेका छन्। सत्य निरूपण तथा मेलमिलाप आयोग र कानुन मन्त्रालयको सचिव हुँदा सापकोटाले द्वन्द्वकालीन विवाद निरूपणमा महत्त्वपूर्ण योगदान दिएका थिए। टिआरसी गठन गर्न उनको विशेष भूमिका रहेको कानुन मन्त्रालयका अधिकारीहरू बताउँछन्।
प्रशासन तर्फको रिक्त सचिवमा बढुवा गर्न बढुवा समितिलाई सिफारिश गर्न उर्दी जारी भईसकेको छ। आज भोलि मै लोकसेवाका अध्यक्षको अध्यक्षतामा बढुवा समितिको बैठक बस्दैछ। सचिव बढुवाका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डण्डुराज घिमिरे, लोक सेवा आयोगका सहसचिव खगेन्द्रप्रसाद सुवेदी र शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्री प्रतिस्पर्धामा छन्।
प्रशासन सेवाका घिमिरे र शिक्षातिरका सुवेदी र काप्री सचिव बढुवाको लाइनमा छन्। सचिव बढुवका लागि १ नम्बरमा घिमिरे, २ नम्बरमा सुवेदी र ३ नम्बरमा काप्रीको नाम सिफारिस हुनेछ। भूपाल बराल १ नम्बरमा सचिव बढुवाका लागि सिफारिस हुँदा ३ नम्बरमा रहेका सुवेदीले सचिव हुन चर्को ‘लबिइङ’ गरेका थिए। अहिले २ नम्बरबाटै फड्को मारेर सचिव हुने दाउमा सुवेदी रहेको पाइन्छ।
अहिलेसम्म एक नम्बर मै रहेका उम्मद्वारलाई सचिव बढुवा गरिंदै आएको छ। सुशासनको राम्रो व्याख्या गर्ने प्रधानमन्त्री भएका समयमा रोलक्रम अनुसार नै बढुवा हुनेमा सबै बिश्वस्त छन्।
सुवेदी ५८ वर्षे उमेर हदका कारण यहीँ भदौ १८ गते अनिवार्य अवकाशमा जाँदैछन्। यदि अहिल्यै सुवेदीको बढुवा नभए उनी सहसचिव बाटै घर जानुपर्ने हुन्छ। त्यसैले घिमिरेलाई उछिनेर सुवेदी सचिव बन्ने दौडधुपमा छन्। घिमिरे पनि ५८ वर्षे उमेर हद कायम रहँदा २ वर्ष मात्र सचिव चलाउनेमा पर्छन्।