सोसल मिडिया
युनिकोड
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका तत्कालीन इन्जिनियर (उपनिर्देशक) रामबाबु महतो कोइरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
धनुषा स्थायी घर भई हाल काठमाडौं महानगरपालिका– ४ चण्डोल बस्ने महतोविरुद्ध अख्तियारले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
‘धनुषा स्थायी घर भई हाल काठमाडौं महानगरपालिका– ४ चण्डोल बस्ने रामबाबु महतो भन्ने रामबाबु महतो कोइरीले पदीय मर्यादाविपरीतका कार्य गरेर गैरकानूनीरूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी आयोगमा परेको अख्तियारले जनाएको छ ।
अनुसन्धानका क्रममा महतोले महानगरमा सार्वजनिक पद धारण गरेको मिति २०४६ वैशाख १९ गतेदेखि ०७८ चैत ३० गतेसम्मको जाँच अवधिमा उनको सम्पत्ति छानबिन गरिएको थियो । यसबाट उनले प्रमाणविना ठूलो सम्पत्ति आर्जन गरेको पुष्टि भएको अख्तियारको दाबी छ ।
‘प्रतिवादी महतोको विभिन्न सरकारी तथा गैरसरकारी कार्यालय, बैङ्क, बीमा कम्पनी, विद्यालय, सहकारी संस्था र मालपोत कार्यालयबाट प्राप्त कागजात, स्टेटमेन्ट, लिखत र बयानहरूको समष्टिगत विश्लेषणबाट उनले आयको स्रोत स्पष्ट नपारी अस्वाभाविक रुपमा उच्च जीवनशैली यापन गरेको देखिएको छ,’ अभियोगपत्रमा भनिएको छ ।
जाँच अवधिमा महतोले ४ करोड ५८ लाख ९७ हजार ४०३ रुपैयाँ बढी व्यय गरी स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको पाइएको थियो । सार्वजनिक पदमा रहँदा पदको दुरुपयोग गरी गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको पुष्टि भएकाले अख्तियारले कोइरीविरुद्ध कैद, जरिवाना र सम्पत्ति जफतको माग गरेको छ ।
गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति परिवारका सदस्यका नाममा समेत राखिएको पाइएकाले आयोगले उनकी पत्नी मालाकुमारी महतोलाई पनि सम्पत्ति जफत प्रयोजनका लागि प्रतिवादी बनाएको छ ।