लोकमानको तामेली प्रेम राईले छामे, १३ वर्षपछि माधव नेपाल डामे

शुक्रबार, जेठ २३, २०८२

मन्त्रिपरिषद्को निर्णय देखाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १३ वर्षअगाडि पतञ्जली योगपीठ नेपालको जग्गा प्रकरणको उजुरी तामेलीमा राखेको पाइएको छ । आयोगले २५ मंसिर २०६९ मा पतञ्जलीको जग्गा विवादबारेको उजुरी तामेलीमा राख्ने निर्णय गरेको थियो ।

‘तामेलीमा राख्ने’ भन्नाले कुनै विषय, मुद्दा, वा प्रस्तावलाई औपचारिक रूपमा विचाराधीन अवस्थामा राख्ने वा तत्काल कारबाही नगरी पछि निर्णय लिनका लागि स्थगित गर्ने प्रक्रिया बुझिन्छ । तामेलीमा राखिएको मुद्दा आवश्यकताअनुसार पछि पुनः खोल्न सकिन्छ ।

माधवकुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले १८ माघ २०६६ मा पतञ्जली योगपीठलाई नेपालका विभिन्न जिल्लामा जग्गा किन्न पाउने गरी निर्णय गरेको थियो । त्यसरी किनेको जग्गा बेच्न पनि पाउने निर्णय गरेको थियो । किनेको जग्गा विक्री गर्दा आएको रकमले पाँच वर्षभित्र फेरि जग्गा किन्नुपर्ने निर्णय गरेको थियो ।

यही निर्णयअनुसार पतञ्जली योगपीठले काभ्रेमा जग्गा खरिद र विक्री गरेको थियो । योगपीठले ४ करोड २२ लाख ५० हजार रुपैयाँको जग्गा विक्री गरेको थियो, विक्रीको मध्ये १ करोड ७७ लाख रुपैयाँ बराबरको जग्गा फेरि खरिद गरिएको र अरु जग्गाका लागि पनि वैना बुझाएको हुँदा उजुरी तामेलीमा राख्ने निर्णय आयोगले गरेको थियो ।

यसबाहेक ‘हदवन्दी छुटको जग्गा विक्रि गर्न र खरिद गर्न नेपाल सरकारले नै छुट दिएको’ कारण देखाउँदै आयोगले उजुरी तामेलीमा राखेको थियो । पतञ्जली जग्गा विवादबारेको उजुरी तामेली राख्ने निर्णय हुँदा प्रधानमन्त्री थिए, बाबुराम भट्टराई । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त थिए, लोकमानसिंह कार्की । पछि सर्वोच्च अदालतले विवादास्पद कार्कीको अख्तियारको प्रमुख आयुक्तको नियुक्ति नै बदर गरिदिएको थियो ।

akhtiyar-madhav-tameli-1749174880.jpg
 

प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०८२  ०७:४०
प्रतिक्रिया दिनुहोस्