जातीय छुवाछुत उन्मूलन दिवसका अवसरमा प्रधानमन्त्रीले दिए यस्तो सन्देश

बुधबार, जेठ २१, २०८२

प्रधानमन्त्री केपी शर्मा ओलीले जातीय छुवाछुत उन्मूलन दिवसका अवसरमा बुधबार (जेठ २१ गते) जातीय विभेदविरुद्ध महत्त्वपूर्ण सन्देश दिएका छन्। 

उनले बुधबार बिहान सामाजिक सञ्जालमार्फत आमाले जात होइन, नवजात जन्माउने उल्लेख गर्दै मानवताभन्दा माथि कुनै जात नहुने बताएका हुन्। 

उनले लेखेका छन्, ‘आमाले जात जन्माउँदिनन्, नवजात मानव जन्माउँछिन्। नवजात शिशु हिँड्न थालेपछि समाजले जात र थर सोध्न थाल्यो।’ उनले अगाडि लेखेका छन्, ‘मानवताभन्दा माथि कुनै जात छैन। रगत सबैको एउटै रङको हुन्छ, आँसु सबैको उस्तै वेदनाले बग्छ। हामीले जात, थर वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्यांकन गरिने समाज बनाउनु छ। समभाव र समानताको विकास गरौँ, जातीय छुवाछुत उन्मूलन दिवसको सबैलाई शुभकामना!’

आज जेठ २१ गते जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाइँदै छ। नेपालमा हजारौँ वर्षदेखि जरा गाडेर बसेको जातीय भेदभाव तथा छुवाछुत प्रथाको अन्त्य गर्ने प्रणसहित २०६३ जेठ २१ गते तत्कालीन व्यवस्थापिका संसद्ले ‘छुवाछुतमुक्त राष्ट्र’ घोषणा गरेको सम्झनामा उक्त दिवस मनाउने गरिएको हो।

उक्त दिनको स्मरणमा त्यसयता नेपालमा हरेक वर्ष जेठ २१ मा जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाउने गरिएको छ ।
 

प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२  १०:४१
प्रतिक्रिया दिनुहोस्