सोसल मिडिया
युनिकोड
सुदूरपश्चिम प्रदेशका तीन महिने मुख्यमन्त्री दिर्घराज सोडारीविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। सोडारीविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जनमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
अख्तियारले १ करोड ८ लाख ३८ हजार रुपैयाँभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोग लगाएको छ। नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता समेत रहेका सोडारीलाई अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा काँजो लगाईएको हो।
सुदूरपश्चिम प्रदेशको पूर्वमुख्यमन्त्री सोडारीकी पत्नी गीता सोडारी नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दामा दोषी ठहर भइसकेकी छिन्। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले सोडारीलाई दोषी ठहर गरेको हो । गीतालाई ६ महिना कैद र १० हजार जरिवाना हुने विशेष अदालतको फैसाला गरेको थियो।
श्रीमती भ्रष्टाचारी ठहर भएको एक वर्ष पुग्न लाग्दा पूर्वमुख्यमन्त्री सोडारीमाथि पनि भ्रष्टाचार मुद्दा दायर भएको हो। गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा सोडारीसहित उनकी श्रीमती गीता र छोरा बबिलाई पनि बिगो जफत प्रयोजनका लागि प्रतिवादी बनाइएको छ।
सोडारी सुदूरपश्चिम प्रदेशको चौथो मुख्यमन्त्री हुन्। सुदूरपश्चिम प्रदेशको सामाजिक विकासमन्त्री र भौतिक पूर्वाधारमन्त्री हुँदै मुख्यमन्त्री भएका सोडारीले अकुत सम्पत्ति आर्जन गरेपछि भ्रष्टाचारमा डामिएका छन्। जोईपोई माथि नै भ्रष्टाचार मुद्दा लागेको सम्भवत यो पहिलो घटना हो।