सोसल मिडिया
युनिकोड
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणको छानबिनका लागि गृहमन्त्री रमेश लेखकले मार्गप्रशस्त गर्नुपर्ने अडान कायमै राखेको छ । पार्टी कार्यालय बनस्थलीमा सोमबार बसेको संसदीय दलको बैठकले गृहमन्त्रीले राजीनामा दिनुपर्ने निर्णय दोहाेर्याएको हो ।
गृहमन्त्री लेखकमाथि प्रश्न उठेकाले उनले नभइ सरकारको अभिभावकको रुपमा रहेका प्रधानमन्त्री केपी ओलीले सदनमा जवाफ दिनुपर्ने बैठकको निष्कर्ष रहेको रास्वपा कार्यवाहाक प्रवक्ता मनीष झाले जानकारी दिए ।
मार्गप्रशस्त गरेपछि छानबिन आयोगमार्फत गृहमन्त्रीमाथि अनुसन्धान गर्नुपर्ने आफूहरूको माग रहेको उनले बताए । ‘भिजिट भिसा प्रकरणमा रास्वपा कुनै एक व्यक्तिको पछि लागेको होइन । समग्र बेतिथिलाई अन्त्य गर्नुपर्छ भन्ने हाम्रो जोड हो,’ बैठकपछि उनले भने ।
त्यसअघि सोमबार नै बसेको रास्वपा सचिवालय बैठकले पनि भिजिट भिसा प्रकरणमा सदनमा शसक्त रुपमा प्रस्तुत हुन संसदीय दललाई निर्देशन दिएको थियो । आगामी संसद् बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा पनि बैठकमा छलफल भएको झाले बताए ।