सोसल मिडिया
युनिकोड
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले रकेटको चालमा विकास निर्माणका काम गर्न लागिपरेको दावी गरेका छन्।
उनले विकास निर्माणका आयोजनामा भइरहेको ढिलासुस्ती भ्रष्टाचारभन्दा ठूलो अपराध भएको बताउँदै बामे सरेको चालले नभई रकेटको चालमा विकास गर्न लागिपरेको दावी गरेका हुन्।
आइतवार मधेशमा ‘एक निर्वाचन क्षेत्र एक सडक’को शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। भ्रष्टाचारमा आयोजनाको लागतको १० प्रतिशत हुने भए पनि विकास निर्माणमा ढिलाइ हुँदा आयोजनाको शतप्रतिशत मूल्य बढ्ने गरेको उनको भनाइ छ।
प्रधानमन्त्री ओलीले सरकार भ्रष्टाचार नियन्त्रणमा मात्र नभई ढिलासुस्ती नियन्त्रणमा गम्भीर रहेको बताए। प्रविधि र एआईको समयमा बामे सरेको चालले नभई रकेटको चालमा विकास गर्नुपर्ने बताए।
प्रधानमन्त्री ओलीले भने, ‘भ्रष्टाचारभन्दा ठूलो अपराध ढिलासुस्ती हो। भ्रष्टाचार गर्नेले १० प्रतिशत गर्ला‚ ढिलासुस्ती गर्दा त्यो आयोजनाको मूल्य नै शतप्रतिशत बढ्छ। ढिलासुस्ती नियन्त्रणमा सरकारको कडाइका साथ ध्यान जानेछ। यो जमाना प्रविधि र एआईको जमाना हो। यस युगमा हामी चाहिँ बामे सरेको चालले होइन रकेटको चालले विकास गर्नुपर्छ। बामे सरेर हुँदैन। त्यस कुरामा सरकारको ध्यान गएको छ।’
उनले मधेश प्रदेश निर्माणाधीन क्रिकेट रङ्गशालाहरू सम्पन्न गर्न सरकारले योजना बनाइरहेको बताए।