सोसल मिडिया
युनिकोड
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् । पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले समसामयिक विषयमा छलफल हुने भए पनि मूलतः भातृ संस्थाका विषयमा छलफल गर्न बैठक डाकिएको जानकारी दिए । बैठक सोमबार बिहान ९ बजेका लागि बोलाइएको हो ।
यही जेठ १२ गते सभापति देउवाले निवासमै पदाधिकारी र पूर्वपदाधिकारीको बैठक डाकेका थिए । यक्त बैठकमा भिजिट भिसा विवादमा तानिएका गृहमन्त्री रमेश लेखकका विषयमा छलफल केन्द्रित थियो । उक्त छलफलमा लेखकले आफ्ना बारेमा उठिरहेका प्रश्न, संलग्नताका विषयमा ब्रिफिङ गर्दै नेता डा. शेखर कोइरालामाथि गम्भीर गुनासो राखेका थिए । उनले आफूले समेत मान्ने नेता डा. शेखर कोइरालाले सार्वजनिक रूपमा राजीनामा मागेको भन्दै नेता कोइरालाले राजीनामा माग्ने भए आफैँलाई फोन गरेर भन्न सक्ने बताएका थिए ।
लेखकको उक्त भनाइपछि डा. शेखर तथा अन्य दुई सांसद राजेन्द्र बजगाईं तथा सुनिल शर्माको आलोचनामा उत्रिएका थिए । उनीहरूले पार्टीको मर्यादा नै खलल पार्ने गरी नेताहरू प्रस्तुत भएका भन्दै सभापति देउवालाई उनीहरूको स्पष्टीकरण सोध्न र कारबाही गर्न माग गरेका थिए । त्यसले कांग्रेसभित्रको विवादलाई थप छताछुल्ल बनाइदिएको थियो ।
तर, डा. शेखरले भने विराटनगर जानुअघि शुक्रबार नै लेखकसँग सामाजिक सञ्जाल र मिडियामा आइरहेको विषयमा कुराकानी गरेको सचिवालयले बताएको छ । उनले लेखकलाई विवादित हुने विषय किन र कसरी आइरहेको छ भनेर जिज्ञासा राखेका थिए । त्यसमा लेखकले आफू त्यस्ता मामिलामा संलग्न नभएको र जबरजस्ती विवादमा तान्ने प्रयास भइरहेको बताएका थिए ।
नेपाली कांग्रेसको विधानले पदाधिकारी बैठक, पूर्वपदाधिकारी बैठक वा संयुक्त बैठकलाई मान्यता नदिए पनि सभापति देउवाले यस्तै बैठकबाट निर्णय गराउँदै आएका छन् । पदाधिकारी र पूर्वपदाधिकारीबाहेक केही व्यक्ति मात्र रहने कार्यसम्पादन समितिलाई केन्द्रीय समिति बैठक नबसेका विषयमा निर्णय गर्ने अधिकार पार्टी विधानले दिए पनि देउवाले आक्कलझुक्कल मात्र कार्यसम्पादन समिति बैठक बोलाउँदै आएका छन् ।