Dashain Banner
Dashain Banner

सात भाईलाई साथ लिएर मुख्यसचिवले घन्टीको रालो तोड्ने, ‘कुलिङ पिरियड’ गोड्ने

आइतबार, जेठ १८, २०८२

संघीय निजामती विधयेक जेठ २० गते बस्ने प्रतिनिधिसभाको बैठकमा टेबुल हुने भनिएको छ। राज्य व्यवस्था तथा सुशासन समितिले मैझारो गरेपछि प्रतिनिधिसभामा पुग्न लागेको विधयेकमा २ वर्षे ‘कुलिङ पिरियड’को व्यवस्था समेटिएपछि घर जाने तरखरमा रहेका प्रशासकहरू ‘कुलिङ पिरियड’को घन्टीको रालो तोड्न सक्रिय छन्। 

‘कुलिङ पिरियड’ले तिल्मिलाएका मुख्यसचिव र केही थान सचिवले त्यसलाई रोक्न अनेक जुक्ति लगाई रहेकै छन्। सुरुमा सामुहिक राजीनामाको तुरूप फ्याँकेका उनीहरु त्यहिले नपुगेर ठूला दलका नेताको दैलोमा पुगे। सभामुख र राष्ट्रियसभाका अध्यक्षकोमा पुगेर देउसीभैलो खेल्दा पनि दक्षिणा पाउने संकेत नपाएपछि अहिले उनीहरू गोप्य जुक्तिमा जुटेका छन्। 

अवकाशको मुखमा रहेका मुख्यसचिव र सचिवहरू संवैधानिक र न्यायाधीश नियुक्ति खान मुख मिठ्याएर बसेका छन्। २ वर्षे ‘कुलिङ पिरियड’ लागू हुँदा मुखमै आएको संवैधानिक नियुक्ति फुत्किने अवस्था आउँछ। त्यसैले मुख्यसचिव र सचिव पदधारी स्वार्थ समूह ‘कुलिङ पिरियड’ रोक्न हुल बाँधेर हिँड्न थालेका हुन्।

‘कुलिङ पिरियड’को तत्काल असर मुख्यसचिव एकनारायण अर्याल, कानुन मन्त्रालयका सचिव उदयराज सापकोटा, गृहसचिव गोकर्णमणि दुवाडी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव फणिन्द्र गौतम, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सचिव कृष्णहरि पुष्कर कर्ण, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरे, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा बिडारीलगायतलाई पर्ने देखिन्छ। उनीहरू नै ‘कुलिङ पिरियड’को प्रस्तावित २ वर्षे व्यवस्था हटाउन ज्यान फ्यालेर लागेका हुन्। 

प्रधानमन्त्री केपी शर्मा ओली र उनका प्रमुख राजनीतिक सल्लाहकार (जो जनताबाट अनुमोदन भएका व्यक्ति हैनन्)को बलियो साथ पाएपछि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले २ वर्षे ‘कुलिङ पिरियड’ राख्ने गरी पारित गरेको प्रावधान उल्ट्याउन लागिपरेका छन्। प्रस्तावित ‘संघीय निजामती सेवा ऐन’मा २ वर्षे ‘कुलिङ पिरियड’ लागू हुने भएपछि मुख्यसचिव र सचिवहरूले राती-राती प्रधानमन्त्री निवास बालुवाटारमा बैठक राख्ने गरेका छन्। यि स्वार्थ समूहका लागि प्रधानमन्त्री नै ‘गोटी’ बनेर निजामती कानुन गिजोल्न खोजेका हुन्। आफ्नो स्वार्थका लागि उनीहरू कुन हदसम्म जान्छन् भन्ने पछिल्ला चलखेलबाट प्रस्ट हुन्छ।

यहीँ जेठ २५ गते सचिवको ५ वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश जान लागेका कानुन सचिव उदयराज सापकोटा ‘कुलिङ पिरियड’ हटाउन मुख्यसचिव एकनारायण अर्यालसँगै कुममा कुम मिलाएर हिँडेका छन्। स्वार्थमा ठेस लाग्ने भएपछि ‘चिसो अवधि’मा तातो पानी खन्याउन उनी पनि सक्रिय छन्। सापकोटा नेपाली कांग्रेसका नेताहरूसँग नजिक देखिन्छन्।

मुख्यसचिव एकनारायण अर्याललाई ‘कुलिङ पिरियड’ले दिनमा भोक र रातमा निद्रा लागेको छैन। दिउँसो-दिउँसो शीर्ष नेता र भिभिआईपीका धाउने अर्याल राती-राती प्रधानमन्त्री निवास बालुवाटारमा ‘डेरा’ जमाउन थालेका छन्। ५८ वर्षे उमेर हदका कारण आगामी मंसिर १० गते अनिवार्य अवकाशमा जान लागेका मुख्यसचिव अर्याललाई त्यसपछिको नियुक्तिले पिरोलेको छ। सके अख्तियारको प्रमुख आयुक्त खान मुख मिठ्याएर बसेका मुख्यसचिव अर्याललाई ‘कुलिङ पिरियड’ले पार्नु पीर पारेको पाइन्छ। ‘कुलिङ पिरियड’ हटाउन मुख्यसचिव अर्यालबाट नहुनुपर्ने काम भइरहेको देखिन्छ। अर्याललाई एमालेको ‘पोलिटब्यूरो’को रूपमा चिन्ने गरिन्छ।

स्वार्थको जालोमा जेलिएकाहरू मुख्यसचिव अर्याल संगै हिडेका छन्। एक दर्जन सचिवले मात्र उनलाई साथ् दिएका छन् भने पूर्व सचिवहरूले अर्यालको स्वार्थको धुरन्धर विरोध गर्दै आएका छन्। 

प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२  १४:३२
प्रतिक्रिया दिनुहोस्