एमालेले एक्लैले सुपथ बहुमत ल्याउने ओलीको दाबी, तर कसरी ?

शनिबार, जेठ १७, २०८२

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले व्यक्तिगत महत्वाकांक्षा नभई राष्ट्रिय हित, परिवर्तन र समृद्ध नेपाललाई ध्यान दिएर अघि बढेमा आगामी निर्वाचनमा एमालेको एकल बहुमत आउने बताएका छन्।

नेपाल बुद्धिजीवी परिषद्को ११ औँ राष्ट्रिय महाधिवेशनको शनिबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशभित्र र बाहिरका अनेकथरी स्वार्थको टक्कर गर्नेहरुले मोर्चाबन्दी गरेर एमालेका विरुद्धमा लागेर झण्डै दुई तिहाइमा पुगेको पार्टीलाई विभाजन गराइए पनि त्यस स्थितिबाट अब पार्टी सुदृढ भइसकेको बताए।

‘भविष्यमा पनि अयोग्य हुने गरी प्रतिक्रियावादीहरुले मलाई साधारण सदस्यबाट पनि हटाएको घोषणा गरे। विचार र विकासको नायक पार्टीलाई सिध्याउँछु, धुलो चटाउँछु भने। यी सबै घेराबन्दी र मोर्चाबन्दीलाई पराजित गरेर एमाले फेरि मुलुकको लोकप्रिय पार्टी बन्यो,’ ओलीले भने, ‘व्यक्तिगत महत्वाकांक्षा छोडेर राष्ट्रिय हित र परिवर्तनको हित एवं समृद्ध नेपाललाई ध्यान दिएर अगाडि बढेमा एमालेको एकल बहुमत ल्याउन कसैले रोक्न सक्दैन। विभाजन हुँदा पनि हामी लोकप्रिय पार्टी बन्न सकेका छौँ। आज एमालेलाई सिध्याइदिन्छु र भित्तामा लगेर टाँसिदिन्छु भन्ने कसैको हैसियत छैन। त्यसकारण हामी मिसन २०८४ मा अघि बढेका छौँ। यसमा जो जहाँ छौँ, त्यहाँबाट योगदान गरौँ।’

उनले देशमा संक्रमणकालमा रहेको र देशले सही निकास खोजिरहेकाले देशको परिस्थितिमा सुधारका लागि बुद्धिजीवीको भूमिका रहने भएकाले त्यस अनुसार सक्रिय हुन आग्रह गरे।
 

प्रकाशित मिति: शनिबार, जेठ १७, २०८२  १६:०५
प्रतिक्रिया दिनुहोस्