रविले काखी च्यापेकालाई लेखकले पुल्पुल्याए, कहाँ-कहाँ चिम्लिए आँखा ?

शुक्रबार, जेठ १६, २०८२

भिजिट भिषा प्रकरण तन्किदै जाँदा प्रतिनिधिसभाको बैठक गिजोलिएको छ। विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामालाई सदन संचालनको सौदाबाजी गर्ने प्रष्ट पारेका छन्।  भिजिट भिषा प्रकरणमा गृहमन्त्रीको संलग्नता रहेको ठहर गर्दै विपक्षी दलले संसदीय छानबिन समितिको माग पनि गरेका छन्।  गृहमन्त्रीलाई राजीनामाको ठाउँ सम्म पुर्याउने काम भने एक जना सहसचिवले गरेका हुन्। 

विवादित सहसचिव तिर्थ भट्टराईको विषयलाई लिएर गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने अवस्था आउन सक्ने संकेत भने देखिन थालेको छ। रास्वपा सभापति रवि लामिछाने गृहमन्त्री हुँदा काखी च्यापेका भट्टराईलाई पुल्पुल्याएका कारण लेखक अफ्ठेरो अबस्थामा पुगेका हुन्। 

लामिछानेले २०८० फागुन २३ गते गृहमन्त्रीको पदभार सम्हालेका थिए। रवि गृहमन्त्री भएको झन्डै ३ महिनापछि २०८१ जेठ १७ गते विवादित सहसचिव भट्टराई कसुरजन्यको महानिर्देशक भएर जिम्मेवारी सम्हाल्न पुगेका थिए। रवि पहिलोपटक गृहमन्त्री हुँदा राष्ट्रिय परिचयपत्रमा विवादमा परेका भट्टराईलाई उनी दोस्रोपटक गृहमन्त्री हुँदा कसुरजन्यमा लगेर व्यवस्थापन गरिएको थियो। त्यो बेला गृहसचिव (हालका मुख्यसचिव) एकनारायण अर्याल रहेका थिए।

गृहमन्त्री लामिछानेले भट्टराईलाई कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा व्यवस्थापन मात्रै गरेनन् भिजिट भिसा काण्डमा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय प्रमुख हुँदा लफडमा परेका गोगन हमाललाई आन्तरिक व्यवस्थापन महाशाखामा भित्र्याए। रविले जयनारायण आचार्यलाई कारागार व्यवस्थापन विभागको महानिर्देशक र डा. भीष्मकुमार भुसाललाई विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख बनाए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको प्रमुखमा भने सुरेश पन्थीलाई लगेका थिए। रविले खेलाएका यिनै सहसचिवहरूलाई छानीछानी महत्त्वपूर्ण जिम्मेवारी दिँदा रमेश लेखक ‘चेपुवामा’ परेका हुन्।

रविले बोकेका सहसचिवलाई आँखा चिम्लेर लेखकले जिम्मेवारी दिएपछि अहिले उनलाई तिनैले भाउँतो पारिदिएका हुन्। 

रविको पालामा ठिकै मानिने कसुरजन्य व्यवस्थापन विभागको महानिर्देशक रहेका सहसचिव भट्टराईलाई आकर्षक रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन प्रमुख बनाउन लेखक अग्रसर भए। 

भिजिट भिसा काण्डमा उनी त्यसैको परिणाम अहिले भोग्ने अवस्थामा छन्। रविले आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख बनाएर गोगन हमाललाई पनि गृहमन्त्री लेखकले संरक्षण गरे। हमाललाई लामो समय आन्तरिकमै राखेर गृहमन्त्री लेखक र सचिव गोकर्णमणि दुवाडीले कैलालीको प्रमुख जिल्ला अधिकारी बनाएर पठाएका छन्।

रविले कारागार व्यवस्थापन विभागको महानिर्देशक बनेका जयनारायण आचार्यलाई लेखकको रोज्जा काठमाडौंको प्रमुख जिल्ला अधिकारी बनाएर पठाए। आचार्य नक्कली प्रमाणपत्र काण्डमा विवादमा मुछिएपछि अहिले उनलाई लेखकले गृहको आन्तरिक व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी दिएका छन्। यो महाशाखा गृहको आकर्षक महाशाखा मै गनिन्छ।

रविको पालाका भीष्म भुसाल गृहबाट आउट भइसकेका छन् भने सुरेश पन्थी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनबाट कसुरजन्यमा पुगेका छन्। रवि कै चर्को विरोध गरेर गृहमन्त्री बनेका लेखकले रविले ‘च्यापे’का सहसचिवहरूलाई खोजीखोजी जिम्मेवारी दिँदा यो दुर्गती भोग्नुपर्ने अवस्था आएको छ। अझ, जो-जो बद्नाम कर्मचारी थिए तिनैलाई खोजी खोजी विमानस्थल र गृहमन्त्रालयमा ओसार्नुले पनि लेखक माथि ज्यादा प्रश्न उठेको हो। चौथो पटक सम्म विमानस्थल अध्यागमनको जिम्मेवारी तोक्ने सवालमा लेखक चुकेका हुन्। अर्कातिर, चलखेल समूहले गृहसचिव बनाएका दुवाडीलाई आँखा चिम्लेर सबै गर्न दिनुले पनि लेखक भड्खालोमा जाकिएका हुन्। 

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  ११:४९
प्रतिक्रिया दिनुहोस्