अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनमा चलखेल, गृहमन्त्रालय रातारात किन गर्दैछ झन् झेल ?

आइतबार, जेठ ११, २०८२

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको भिजिट भिसा प्रकरणले सिङ्गदरबारको गृहमन्त्रालयमा भूकम्प गएको छ। आत्तिएको गृहमन्त्रालयमा अनेक हुन थालेको हो। 

गृहमन्त्री रमेश लेखकको निजी सचिवालयमा कार्यरत शाखा अधिकृत विमल पौडेललाई हतारहतार विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखामा धकेलिएको छ। पौडेल अध्यागमन अधिकृत हुँदा नक्कली भिजिट भिसा सेटिङमा मुद्दा लागेका कर्मचारी हुन्। उनै मन्त्रीको सचिवालयको हर्ताकर्ता भएपछी मन्त्रालय आत्तिएको हो। 

प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराई अख्तियारको फन्दामा परेपछि ‘ब्याक डेट’मा निर्णय गरेर उनलाई अर्का सहसचिव टोकराज पाण्डे नेतृत्वको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखामा गुपचुप रूपमा हतारहतार व्यवस्थापन गरिएको छ। 

डेढ वर्ष अघि मात्र पौडेललाई लिखत किर्ते तथा संगठित अपराधसम्बन्धी कसुरमा  काठमाडौं जिल्ला अदालतमा फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको थियो। फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने सेटिङ धन्दामा तत्कालीन अध्यागमन अधिकृत नरवीर खड्का समातिएपछि पौडेल पनि तानिएका थिए। जिल्ला अदालतबाट सफाइ पाएका पौडेले अहिले गृहमन्त्री रमेश लेखकको सचिवालयमा बसेर लाइन मिलाउन सक्रिय रहेको चर्चा थियो। 

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गृहसचिव गोकर्णमणि दुवाडी र प्रशासन महाशाखा प्रमुख छविलाल रिजाललाई निगरानी बढाएपछि मन्त्रालयले एकपछि अर्को गल्ली गर्दै छ। पौडेलको रातारात सरूवा पनि त्यसको ज्वलन्त उदाहरण हो। जसरी प्रमुख अध्यागमन अधिकृत भट्टराईको हतारहतार सरूवा गरियो गृहमन्त्री लेखकको निजी सचिवालयमा कार्यरत पौडेलको पनि त्यसरी नै सरूवा गरिएको मन्त्रालयले स्रोतले बतायो। प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराई अख्तियारको फन्दामा परेपछिको चार दिन बितेपछि मुख खोलेको गृहमन्त्रालयमा चलखेल झन् फस्टाएको छ। 

प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  २२:१२
प्रतिक्रिया दिनुहोस्