मुख्यसचिवको कप्तानीमा नरसिङ्गा बजाउँदै हिडेका सचिव थन्किए

शनिबार, जेठ १०, २०८२

प्रतिनिधिसभा मातहतको राज्य व्यवस्था समितिले संघीय निजामती सेवा विधेयकमा कुनै पनि कर्मचारी अवकाश भएको २ वर्षसम्म संवैधानिक र कूटनीतिक लगायतका नियुक्तिका लागि अयोग्य हुने व्यवस्था गरेको छ। जसलाई बोलीचालीको भाषामा 'कुलिङ पिरियड' भनिएको छ। हो त्यहि व्यवस्थालाई हटाउन नेपाल सरकारका मुख्यसचिवको कप्तानीमा केही सचिव नेताको घरदैलो चहार्दै हिडेका छन्। 

गत सोमबार प्रधानमन्त्री केपी ओली र मंगलबार सत्तारूढ दल कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर दबाब दिएका उनीहरूले बिहीबार सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाललाई पनि भेटेका थिए ।

कुलिङ पिरियड राख्नैपर्नेको मत बलियो छ। प्राय सबै पार्टीका नेता र सांसद कुलिङ पिरियड राख्नैपर्ने अडानमा भएका कारण विधेयकमा सो विषय परेको हो। प्रशासकहरू कुलिङ पिरियड हटाउनु पर्ने लबिङ्गमा लागेर सामूहिक राजीनामा दिने घुर्की लगाएपछि नेपाली कांग्रेसका सांसद शेखर कोइरालाले कुलिङ पिरियड नहट्ने तर राजीनामा दिए हुने बताएका छन्। 

शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा नेता कोइरालाले दुई वर्षको कुलिङ पिरियड राख्नैपर्ने र त्यो राखिने बताएका हुन्। यसमा सचिवहरूले दबाब दिएर परिवर्तन नहुने कोइरालाको भनाइ छ।

'दुई वर्ष कुलिङ पिरियड राख्नैपर्छ, राखिन्छ। उहाँहरूले प्रेसर दिएर राजीनामा गर्छु भन्नुभएको छ । राजीनामा गरेर देखाउनुपर्‍यो नि पहिले,' उनले भने। 

त्यसकारण कुलिङ पिरियड के हुन्छ भन्ने विषयमा कसैले  चिन्ता लिन जरूरी नरहेको कोइरालाले बताए। कुलिङ पिरियडको व्यवस्था नहुँदा चार दिन पहिले राजीनामा दिएर संवैधानिक निकायहरूमा नियुक्ति लिने प्रवृत्ति बढेको बताए। 

हुन पनि सचिवहरू आवश्यक काम भन्दा पनि अवकाशपछिको चाँदी कटाईलाई थप मजबुत बनाउन लाग्दै आएको बिगत छ। अब भने बल्ल थान्को लाग्ने संकेत देखिएको छ। 
 

प्रकाशित मिति: शनिबार, जेठ १०, २०८२  १६:२१
प्रतिक्रिया दिनुहोस्