सामाजिक सञ्जालको हल्लामा मात्र लोडसेडिङ भएको उर्जामन्त्री खड्काको टिप्पणी 

बुधबार, जेठ ७, २०८२

ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले  लोडसेडिङको हल्ला सामाजिक सञ्जालको हल्ला मात्रै भएको टिप्पणी गरेका छन्। बुधबार पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले बजारमा आएका हल्लाहरु सस्तो लोकप्रियताका लागि आएका समेत बताए। 

‘बजारमा केही चर्चा भएको छ, हामीले यो हिउँदमा १ हजार ५ मेगावाटसम्म विद्युत आयात गर्‍यौँ,’ खड्काले भने, ‘आवश्यकताअनुसार ६ सय, सात सय घट्दै आएर यहाँको विद्युत बढ्दै जाने, आयात घट्दै जाने अवस्थामा छ र थियो। अस्तिको दिनसम्म पनि हामी साढे ३ सय मेगावाट विद्युत आयात गरिरहेका थियौँ। तर आजको रेकर्डअनुसार १ सय ५० मेगावाट निर्यात गरेका छौँ। हामीलाई विद्युत पुगेर, उब्रिएर, निर्यात गरेका छौँ। लोडसेङिको हल्ला यो सामाजिक सञ्जालको हल्ला मात्रै हो।’

उनले थपे, ‘बेला बखत विद्युत विच्छेद हुने अवस्था आजमात्रै होइन। विगतको वर्षको डाटा हेर्ने हो भनेपनि वर्षमा ७ सय घण्टासम्म यसरी विभिन्न पटक विद्युत गएको पाइन्छ, कहिले हावाहुरी, कहिले ठूला ठूला पोल ढलेका कारण, कहिले मान्छेकै कारण पनि चढेर दुर्घटना भएका कारण, पानी, असिनाका कारण पनि अवरुद्ध भएको पाइन्छ। कहीँ मर्मत गरेको बेलामा विच्छेद हुने बाहेक लोडसेडिङको अवस्था यो वर्ष छैन। अब आगामी त झनै हुने खालको अवस्थै देखिँदैन। किनभने हामी उत्पादन बढाइरहेका छौँ।’

प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२  १२:२२
प्रतिक्रिया दिनुहोस्