प्रमुख प्रशासकीय अधिकृत हरिओमलाई भकुर्ने सनफी सिंहदरबारबाटै समातिए

मंगलबार, वैशाख ३०, २०८२

बाराको सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिओम जयसवालमाथि कुटपिट गरेको घटनामा संलग्न सहयोगी पक्राउ परेका छन्।

उनीमाथि कुटपिट गर्ने मेयर किशोरी साह कलवार र एकजना वडा सदस्य अहिलेसम्म पक्राउ पर्न सकेका छैनन्।

मेयरका सहयोगी सनफी यादवलाई प्रहरीले काठमाडौं सिंहदरबार परिसरबाट पक्राउ गरि जिल्ला प्रहरी कार्यालय बारामा पठाएको छ।

सहयोगी यादव केही दिनअघि मेयर कलवारसँगै काठमाडौं गएका थिए। प्रशासकीय अधिकृत जयसवालले मेयर कलवार, वडा ४ का सदस्य दीपेन्द्र गुप्ता र सहयोगी सनफि यादवविरुद्ध जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दिएका थिए।

कानुन विपरीतको रकम भुक्तानी गर्न अस्वीकार गरेपछि मेयरले प्रशासकीय अधिकृत जयसवाललाई घरमै बोलाई कुटपिट गरेका थिए। घटनामा संलग्न वडा सदस्य गुप्ता फरार भएका छन्।

बाराका एसपी सन्तोष तामाङले मेयरमाथि उजुरी परेको तर अहिलेसम्म मुद्दाको प्रक्रियामा अगाडी नबढेको र घटनाबारे अनुसन्धान जारी रहेको बताए।

घटनाको विरोधमा सिम्रौनगढ नगरपालिकाका कर्मचारी आन्दोलित भएका छन्। कर्मचारीले नगरपालिकाको सम्पूर्ण सेवा ठप्प पारेका छन्। नगरपालिका द्वारा प्रदान गरिने दैनिक काम लिएर जाने सेवाग्राही रित्तो हात फर्कन बाध्य छन्।

यस वर्ष लागेको विश्व प्रसिद्ध पञ्चवर्षीय गढीमाई मेलामा अतिथि सेवालगायत नगरको सरसफाई शीर्षकमा कार्यपालिका बोर्डको बैठकले १० लाख रुपैयाँ छुट्याएको थियो। तर, मेला शीर्षकमा मेयर कलवारले २७ लाख रुपैयाँ भुक्तानी गर्न पटक पटक दवाब दिँदै आएका थिए।

त्यसैगरी बोर्डको बिना निर्णय वृक्षारोपण शीर्षकमा १५ लाख, सिम्रौनगढ ऐतिहाँसिक समारोह शीर्षकमा १० लाख र बाटो सरसफाईमा १९ लाख रुपैयाँ भुक्तानी गर्न मेयर कलवारले दवाब दिँदै आएको प्रमुख प्रशासकिय अधिकृत जैसवालले बताएका छन्।

गत १६ गते बिहान १० बजेदेखी मेयर कलवार र सिम्रौनगढ समारोहको अगुवा महिला ममता शर्मा पटक पटक फोन गरेर सरसल्लाह गर्न भनेर मेयरको निवासमा बोलाएका थिए। 

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  २१:१३
प्रतिक्रिया दिनुहोस्