निजी क्षेत्रका समस्या समाधान गर्न ज्यान दिएर लाग्ने अर्थमन्त्रीले गरे बाचा

सोमबार, वैशाख २९, २०८२

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रका समस्या समाधान गर्नु सरकारको प्रमुख प्राथमिकता रहेको बताएका छन् । आर्थिक वर्ष २०८२/८३ को बजेटका सम्बन्धमा सोमबार नेपाल चेम्बर अफ कमर्ससँगको अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री पौडेलले अगामी बजेटबाट निजी क्षेत्रसँग सहकार्य गर्दै अर्थतन्त्रको सुधारका लागि ठोस कदम चाल्ने बताए ।

अर्थमन्त्री पौडेलले विगतका ढिलासुस्ती र अवरोध अन्त्य गर्नेतर्फ सरकार प्रतिबद्ध रहेको बताए । निजी क्षेत्रलाई उकास्नकै लागि सरकारले अध्यादेशमार्फत कानुन संशोधन गरेको जिकिर गरे ।

"वर्तमान सरकार अर्थतन्त्रमा निजी क्षेत्रको योगदानको महत्त्वलाई राम्रोसँग बुझ्दछ । त्यही भएर हामीले सरकार बनेपछि निजी क्षेत्रले लामो समयदेखि भोगिरहेका समस्या समाधान गर्ने सिलसिलामा केही महत्त्वपूर्ण प्रयास गरेका छौँ । अध्यादेशको माध्यमबाट करिब ३०/३२ वटा कानुन परिवर्तन गरेका छौँ," उनले भने ।

अध्यादेशमार्फत ल्याइएका कानुन कार्यान्वयनका लागि आवश्यक नियमावली र निर्देशिका निर्माणको काम अगाडि बढिरहेको अर्थमन्त्री पौडेलको भनाइ छ ।

"अध्यादेशबाट सुरु भएको कानुन संशोधनको प्रक्रियाले संसद्‌बाट पूर्णतासमेत प्राप्त गरेको छ । हामी ती संशोधनका प्रबन्धलाई कार्यान्वयन गर्नका निम्ति आवश्यक नियमावली र निर्देशिका बनाएर अघि बढ्दै छौँ । आर्थिक सुधारका लागि सरकारले चालेको यो अन्तिम नभई पहिलो कदम हो । हामी सुधारका एकपछि अर्को काम चाल्दै जान्छौँ," उनले भने ।
 

प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२  १६:४५
प्रतिक्रिया दिनुहोस्