सोसल मिडिया
युनिकोड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले धरानका मेयरलाई माओवादीप्रति नकारात्मक हुन आवश्यक नभएको सुझाव दिएका छन्।
सुनसरीको धरानमा आइतबार आयोजित किराती र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, नेपालको संयुक्त राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष दाहालले धरानका मेयर हर्क साम्पाङले माओवादीविरुद्ध नकारात्मक धारणा बनाउन उपयुक्त नहुने बताए।
मेयर साम्पाङ लोकतन्त्रमा फुलेको सुन्दर फुल भएको अभिब्यक्ति दिदै अध्यक्ष दाहालले भने,‘मैले उहाँलाई लोकतन्त्रमा फुलेको सुन्दर फुलको रुपमा लिएको छु, सुन्दर फुल भनेको छु। खै, घरि घरि उहाँलाई के हुन्छ। त्यसैले उहाँले माओवादीप्रति नकारात्मक हुन अवश्यक देख्दिनँ।’
पहिचान, उत्पीडितहरुको पक्षमा अघि बढाइएको अभियानलाई साथ दिनुपर्नेमा जोड दिएका अध्यक्ष दाहालले भने, ‘उहाँहरु जस्ता नयाँ उदाएका राजनीतिकर्मीहरुले संविधान संशोधन र समाज रुपान्तरणको अभियानमा एक भएर साथ हुनपर्ने हो।’
सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले हालको निर्वाचन प्रणाली जनताको नभई पैसावालहरुको पक्षमा रहेको उल्लेख गरेका थिए। अध्यक्ष दाहालले अहिलेको निर्वाचन प्रणाली परिवर्तन गर्दै राष्ट्रपतीय प्रणाली र जनमुखी समानुपातिक निर्वाचन प्रणालीलाई अवलम्बन गर्नका लागि संविधान संशोधन गर्न आवश्यक भएको बताए।
सरकारको नेतृत्वमा रहँदा माओवादीले देश र जनताको पक्षमा काम गर्न कोशिस गरेको बताउँदै अध्यक्ष दाहालले लोडसेडिङ अन्त्यदेखि सडक र भौतिक पूर्वाधार निर्माणको कार्य गरेको बताए।
सम्मेलनमा उनले दलाल र पुँजीपति समूहले जनताको पक्षमा काम गरिरहेको तत्कालिन आफ्नो नेतृत्वको सरकार हटाएर अहिले भ्रष्ट र बिचौलिया पक्षमा काम गर्ने सरकार बनाएको उल्लेख गरे।