देउवा बैंकक हिडेपछि गभर्नर नियुक्तिमा कसरी पस्यो अग्राख ?

यस्ता छन् ओलीका तीन मन्त्र
शुक्रबार, वैशाख २६, २०८२

जतिबेला एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले ठिक छ नि त तपाईले भनेकै व्यक्तिलाई गभर्नर नियुक्त गर्ने नि त भनेर देउवालाई भने तब न देउवाले घरै बोलाएर गुणाकर भट्टलाई राष्ट्र बैंकको कार्यकारी निर्देशक बाट राजीनामा दिन लगाए। यति हुँदा सम्म तिनै भट्ट गभर्नर बन्छन भन्ने थियो। तर जब देउवा सिंगो परिवार बोलेर बैंकक हान्निएर अनि यता अग्राख पलायो। त्यसरी पलाएको अग्राखले भट्टलाई लगभग गभर्नर बन्न नदिने भएको छ। 

तर, प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसभित्र अनेक आशंका उब्जिरहेका बेला प्रधानमन्त्री ओलीले त्यसलाई चिर्ने प्रयास गरेका छन्। खासगरी कांग्रेसभित्र प्रधानमन्त्रीकै कारण गभर्नर नियुक्तिले निकास नपाएको गुनासो र आशंकाका बीच प्रधानमन्त्री ओलीले कांग्रेस सभापति देउवासँग तीनवटा विकल्प प्रस्ताव गरेका हुन्।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर बनाउन ओली र देउवा यसअघि नै सहमत भएका थिए। सोहीअनुसार भट्टले पनि वैशाख ५ गते आफ्नो राजीनामा बुझाएका थिए।

तर कायममुकायम गभर्नर डा. नीलम ढुंगानाले कार्यकारी निर्देशकबाट भट्टले दिएको राजीनामा स्वीकृत गर्न मानेकी छैनन्। उनी पनि गभर्नरकै प्रत्याशी हुन्। सरकारले कायममुकायमको जिम्मेवारी दिएपछि आफैँ बन्ने आशमा थिइन्। तर माहोल अर्कैतिर मोडिएपछि उनी असहयोगी बनेको धेरैको आकलन छ।

यसअनुसार गत बुधबारसम्म राजीनामा स्वीकृत गराएर बिहीबार नियुक्त नै गर्ने पछिल्लो वचन देउवालाई ओलीले दिएका थिए। तर वचनअनुसार ओली असफल भए।

यसलाई कांग्रेस नेताहरुले ओलीकै आडभरोसामा ढुंगानाले त्यसो गरेको हुन सक्ने भन्दै आन्तरिक विमर्श गरेपछि ओलीले सत्ता सझेदार कांग्रेसलाई त्यसबारे प्रष्ट हुने गरी देउवासँग छलफल गरेर विकल्प दिएका हुन्।

बिहीबार साँझ समेत बालुवाटारमा सभापति देउवासहित अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री आरजु राणा देउवा, गृहमन्त्री रमेश लेखकसँग प्रधानमन्त्री ओलीको छलफल भएको थियो। 

उच्च स्रोतका अनुसार प्रधानमन्त्री ओलीले सभापति देउवालाई तीनवटा विकल्प दिएका छन्–

पहिलो, कामु गभर्नर नीलम ढुंगानालाई जसरी पनि ‘कन्भिन्स’ गरी गुणाकर भट्टको राजीनामा स्वीकृत गराउने र, भट्टलाई गभर्नर नियुक्त गर्ने।

दोस्रो, नीलमले राजीनामा स्वीकृत नगरे पनि गुणाकरलाई गभर्नर नियुक्त गर्ने र, कुनै कानुनी समस्या आए सामना गर्ने।

र तेस्रो, गुणाकर भट्टको विकल्प खोज्ने।

गठबन्धनलाई तलमाथि हुन नदिन कांग्रेस कोटाबाटै गभर्नर बनाउन तयार रहेको प्रष्ट सन्देश दिन ओलीले नयाँ प्रस्तावसहितको विकल्प दिएका हुन्। 

ओलीले दिएको पहिलो विकल्पअनुसार गभर्नर नियुक्ति अघि नबढ्ने लगभग निश्चित भइसकेको छ। किन कि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्देशन नै दिँदा पनि कामु गभर्नर ढुंगानाले त्यसलाई नमानी बसिरहेकी छिन्। भट्टको राजीनामा स्वीकृत गर्ने मानेकी छैनन्। 

राष्ट्र बैंक स्रोतका अनुसार उनी भट्टको राजीनामा स्वीकृत नगर्ने बरू राष्ट्र बैंक नै छोड्ने तयारीमा छिन्। ‘म अन्तिमसम्म लड्छु तर राजीनामा स्वीकृत गर्दिनँ’, ढुंगानाले आफूनिकटसँग भनेकी छन्। 

यही अडान उनले प्रधानमन्त्री ओलीसमक्ष समेत राखेकी छिन्। यी सबै प्रकरणले भट्टको गभर्नर बन्ने परियोजनामा तातोपानी खन्याएको छ। 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२  २१:१४
प्रतिक्रिया दिनुहोस्