रेशमको गिरफ्तारीबारे गृहमन्त्रीले वैशाख २५ गते संसदमा जवाफ दिने

मंगलबार, वैशाख २३, २०८२

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीको गिरफ्तारीबारे गृहमन्त्री रमेश लेखकले वैशाख २५ गते संसदमा जवाफ दिने भएका छन् ।

जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका सांसदसहित प्रतिपक्षी अन्य दलका सांसदले पनि रेशमको अनिधकृत गिरफ्तारीबारे सरकारले जवाफ दिनुपर्ने भन्दै ध्यानाकर्षण गराएका थिए ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सरकारले गिरफ्तारीबारे सत्यतथ्य छानबिन सहित स्पस्ट जवाफ संसदमा दिनुपर्ने माग गरेकी थिइन् ।

यस्तै, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले बैठकमा उठेर विरोध जनाउँदै सरकारलाई रूलिङ गर्न सभामुखको ध्यानाकर्षण गराएका थिए । त्यसपछि, सभामुख देवराज घिमिरेले सदनमा जवाफ दिन सरकारलाई रूलिङ गरे ।

जनमत पार्टी र नाउपाका सांसदले मिति तोक्न माग गर्दै उठेर विरोधलाई निरन्तरता दिए । सभामुख घिमिरेले गृह मन्त्री लेखकले वैशाख २५ गते जवाफ दिने जानकारी गराएको व्यहोरा सुनाएपछि जनमत र नाउपाका सांसदहरूले अवरोध स्थगित गरे ।

प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२  १२:२८
प्रतिक्रिया दिनुहोस्