रेशम प्रकाउबारे निष्पक्ष छानबिनको माग गर्दै सांसद समेत रहेकी श्रीमती उफ्रिईन्

मंगलबार, वैशाख २३, २०८२

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले पार्टीका संरक्षक रेशम चौधरी प्रकाउबारे निष्पक्ष छानबिनको माग गरेकी छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदसमेत रहेकी चौधरीले पक्राउ घटनाबारे सार्वजनिक जवाफ माग गरेकी हुन् ।

“यस घटनाको गहिरो अध्ययन होस्, यहाँ केवल एक जनाको गिरफ्तारीमात्रै होइनन् । संघीयता, समावेशिता, लोकतन्त्रप्रतिको विश्वासमा चोट लागेको छ,” उनले भनिन्, “वैशाख १७ गते भएको घटनामा भएको प्रशासनिक मनोमानीको निष्पक्ष छानबिन होस् । रेशम चौधरीज्यूप्रति भएको व्यवहारको सार्वजनिक जवाफ देओस् । हामी जवाफको प्रतीक्षामा छौँ ।” 

उनले पार्टी एकता कार्यक्रमस्थलबाट सुरु हुनुपूर्व कानुनी प्रक्रियाबिना गिरफ्तार गरिएको बताइन् । कसरी एक निर्वाचित प्रतिनिधि नेता कार्यक्रमस्थलबाट पक्राउ पर्छन् ? भन्दै प्रश्न गरिन् ।

उनले लोकतन्त्रप्रति विश्वास कायम रहने अवस्था बनाउन आग्रह गरिन् । “लोकतन्त्रप्रति हाम्रो विश्वास कायम रहोस् । र, सत्यप्रति सरकारको जवाफ नटुटोस्,” उनले भनिन् ।

चौधरी राष्ट्रिय जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता गर्ने तय भएको दिन वैशाख १७ गते प्रज्ञाभवनबाट पक्राउ परेका थिए । सर्वोच्च अदालतका एक कर्मचारीले जारी गरेको अवैध कागजातबाट पक्राउ परेका उनी सर्वोच्चकै निर्देशनपछि वैशाख १७ गते नै छुटेका थिए ।

प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२  ११:५७
प्रतिक्रिया दिनुहोस्