सोसल मिडिया
युनिकोड
आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न सरकार र नेपाल शिक्षक महासंघबीच भएको छलफलले निकास निकालेको भनिएपनि अझै केही कुरा मिल्न बाँकी रहेको बुझिएको छ। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको निवास गोल्फुटारमा भएको छलफलले ठोस सहमति गरेको एक सहभागीले बताए। तर, त्यसको औपचारिक पुष्टी भने भएको छैन।
छलफलमा शिक्षामन्त्री रघुजी पन्त, गृहमन्त्री रमेश लेखक, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कांग्रेसका महामन्त्री गगन थापा, एमाले महासचिव शंकर पोखरेल र शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहित तीन जना प्रतिनिधि छलफलमा सहभागी थिए ।
सहमति आजै बस्ने मन्त्रिपरिषद्काे बैठकमा लैजाने र सरकारले त्यसको स्वामित्व ग्रहण गरेपछि शिक्षक महासंघले आन्दोलनका घोषित कार्यक्रममा पुनरवलोकन गर्ने तयारी छ। शिक्षक महासंघले आफ्नो ९ बुँदे प्रस्तावमा मन्त्रिपरिषद्ले तत्काल निर्णय गरे आन्दोलनको मोडालिटी परिवर्तन गर्ने बताइसकेको छ।
आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न पछिल्लो समय नेपाली कांग्रेसका नेताहरुले सरकारमाथि दवाव बढाएका थिए। नेपाली कांग्रेसले महामन्त्री गगन थापा र गृहमन्त्री रमेश लेखकलाई आन्दोलनरत शिक्षकहरुसँग संवाद गरेर सहमतिमा ल्याउने जिम्मेवारी दिएको थियो।
त्यसै अनुसार कांग्रेस नेताकै पहलमा विभागीय मन्त्रीसहित आन्दोलनरत शिक्षक महासंघको नेतृत्वसँग छलफल भएको हो। त्यसकै लागि आज ५ बजे तय गरिएको मन्त्रिपरिषद्को बैठक केही बेर अघि मात्र बसेको छ। गोल्फूटारको छलफलबाट पौडेल, लेखक र पन्त मन्त्रिपरिषद् बैठकमा सहभागी हुन् सिधै बालुवाटार पुगेका छन्।