जम्मु कश्मिरमा भएको आतंकवादी आक्रमणमा परी ज्यान गुमाउनेप्रति ओलीको समवेदना

बुधबार, वैशाख १०, २०८२

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको जम्मु कश्मिरमा भएको आतंकवादी आक्रमणमा परी ज्यान गुमाउनेहरुप्रति गहिरो समवेदना प्रकट गरेका छन् । प्रधानमन्त्री ओलीले आतंकवाद विरुद्धको लडाइँमा भारतसँग दृढ ऐक्यबद्धता जनाउँदै यस्ता सबै किसिमका आतंकवादी कार्यहरूको कडा भत्सर्ना गरेका छन् ।

ओलीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘पहलगाममा भएको आतंकवादी आक्रमणमा परेका सबैप्रति गहिरो समवेदना प्रकट गर्दछौं । नेपालले भारतसँग दृढ ऐक्यबद्धता जनाउँछ र सबै किसिमका आतंकवादी कार्यहरूको कडा निन्दा गर्दछ ।’ आक्रमणमा नेपाली नागरिक परेको आशंकासम्बन्धी रिपोर्टहरूका बारेमा सरकारले भारतीय पक्षसँग समन्वय गरिरहेको प्रधानमन्त्री ओलीले बताएका छन् ।

‘आक्रमणमा नेपाली नागरिक परेको आशङ्कासम्बन्धी रिपोर्टहरूका बारेमा नेपाल सरकार भारतीय पक्षसँग समन्वयमा रहेको छ’ उनले लेखेका छन्, ‘पीडितमध्ये एक नेपाली नागरिक हुन सक्ने रिपोर्टबारे प्रमाणीत गर्न नजिकबाट समन्वय भइरहेको छ र आवश्यक सम्पूर्ण सहायता उपलब्ध गराइनेछ ।’

साथै, परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै शोकसन्तप्त परिवारहरूप्रति गहिरो समवेदना तथा घाइतेहरूको शीघ्र एवं पूर्ण स्वास्थ्यलाभको कामना गरेको छ ।

‘नेपाल दुःखको यो घडीमा भारत सरकार र त्यहाँका जनतासँग दृढ ऐक्यबद्धता प्रकट गर्दछ । नेपाल सबै प्रकारका आतङ्कवादको निन्दा गर्दछ । यो हाम्रो दृढ अडान हो । आतङ्कवादका यस्ता जघन्य कार्य सर्वदा अनुचित छन्’, विज्ञप्तिमा भनिएको छ ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार उक्त आक्रमणमा परी २६ जनाको ज्यान गएको छ भने अन्य १७ जना घाइते भएका छन् । ज्यान गुमाउनेमा एक जना नेपालीसमेत रहेका छन् ।

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  १०:३९
प्रतिक्रिया दिनुहोस्