धमिलो पानीमा माछा मार्ने दुस्साहस कसले गर्दैछ ? प्रचण्डले सुनाए

आइतबार, वैशाख ७, २०८२

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा देखिएको प्रतिगामी षड्यन्त्र सफल हुन नदिने बताएका छन् ।

शनिबार (वैशाख ६) काठमाडौंमा नेवाः राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले सरकारको गलत क्रियाकलापका कारण प्रतिगामी तत्त्वले धमिलो पानीमा माछा मार्ने दुस्साहसजस्तो गरेको टिप्पणी गरे । त्यसलाई सफल हुन नदिने उनले बताए ।

“अहिले प्रतिगामी षड्यन्त्र जो देखापर्न खोजेको छ, त्यो यथार्थमा (अघि एकजना कमरेडले भन्याजस्तै) सरकारका गलत काम, क्रियाकलापका कारणले धमिलो पानीमा माछा मार्ने दुस्साहसजस्तो गरेका छन्, त्यो सफल हुने छैन,” उनले भने ।

तत्कालीन समयमा संविधान नबन्ने देखिएपछि केही विषयमा सम्झौता गरिएको उनले उल्लेख गरे । उनले अब यथास्थितिवाद र प्रतिगामी षड्यन्त्रविरुद्ध सबै उत्पीडित वर्ग र जाति, समुदाय अगाडि बढ्नुपर्ने बेला आएको धारणा राखे ।

प्रचण्डले अरू दलसँग तालमेल गरेर अघि बढ्दा त्यसको परिणाम राम्रो नभएको बताए । अब आफ्नै बलमा निर्वाचन लड्नका निम्ति पार्टीलाई बलियो बनाउने अभियानमा रहेको उनले सुनाए ।

“हामी यहाँबाट पछि हट्ने स्थिति छैन । इनफ इज इनफ भन्याजस्तै भयो,” उनले भने, “हामीले कहिले कसैसँग, कहिले कसैसँग सहमति गर्दा त्यसको परिणाम जनतालाई राम्रो भएन ।

उनले राष्ट्रिय विभूति शंखधर साख्वाको सम्मान र आदर्शलाई पछ्याउँदै गरिब किसानका ३० हजार रुपैयाँसम्मको ऋण मिनाह गर्ने निर्णय आफू प्रधानमन्त्री हुँदा गरेको स्मरण गरे ।

नेवार समुदायको समुदाय, भाषा, पहिचान स्थापित नभएसम्म माओवादीले साथ नछाड्ने उनले प्रतिबद्धता जनाए ।

प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२  ०७:३८
प्रतिक्रिया दिनुहोस्