शिक्षकका मागमा प्रधानमन्त्री ओलीको खिसीट्युरी

शिक्षकले ओली सरकारलाई घुँडा टेकाउने
शनिबार, वैशाख ६, २०८२

नेपाल शिक्षक महासंघले  प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटपछि पनि आन्दोलनलाई नरोक्ने भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा शुक्रबार राति प्रधानमन्त्री ओली र शिक्षक महासंघका प्रतिनिधिहरूबीच भएको छलफल सकारात्मक हुन नसकेको भन्दै  महासंघले आन्दोलनलाई निरन्तरता दिने बताएको छ ।

नेपाल शिक्षक संघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आफूहरूको आन्दोलन नरोकिएको र आज पनि जारी रहने बताएका छन् । उनले शनिबार (आज) दिउँसो १२ बजे माइतीघर मण्डलाको आन्दोलनमा सहभागी हुन शिक्षकहरूलाई आह्वान पनि गरेका छन् ।

नेपाल शिक्षक महासंघले शिक्षा ऐन जारी गर्न माग गर्दै १८ दिनदेखि आन्दोलन गर्दै आएको छ । अध्यक्ष सुवेदीले आन्दोलनको मुख्य लक्ष्य सानातिना मागमा सम्झौता नगरी विगतका सहमतिलाई सम्बोधन गर्ने अग्रगामी शिक्षा ऐन नै भएको बताएका छन् ।

‘हामी एक-दुई सानातिना मागहरूको लेनदेन गरी फर्किन आन्दोलनमा आएका होइनौँ । विगतका सहमति सम्बोधन हुने अग्रगामी ऐन नै हाम्रो लक्ष्य हो,’ उनले भनेका छन् । उनले आफूहरूका माग आन्दोलनकै बलमा पूरा हुने पनि बताएका छन् ।

प्रकाशित मिति: शनिबार, वैशाख ६, २०८२  १२:३८
प्रतिक्रिया दिनुहोस्