सामाजिक सञ्जाल प्लाटफर्म दर्ता हुन नआए सञ्चार मन्त्रीले काँजो लगाउने

शुक्रबार, वैशाख ५, २०८२

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले तोकेको समयभित्र फेसबुकलगायतका सामाजिक सञ्जाल प्लाटफर्म दर्ता हुन नआए प्रतिबन्ध लगाइने दोहोर्‍याएका छन् ।

मन्त्रालयले गत चैत ७ गते सूचना निकालेर सामाजिक सञ्जाललाई वैशाख ७ गतेभित्र अनिवार्य रुपमा सूचीकृत हुन भनेको थियो । तर, समयसीमा सकिन लाग्दा पनि फेसबुकहरु सूचीकृत हुन नआएको गुरुङले बताए ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले भने, “नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जालले देशको नियम मान्नुपर्ने छ । तोकेको म्यादभित्र दर्ता नभए प्रतिबन्ध लगाइने छ ।”

उनले सामाजिक सञ्जालसम्बन्धी कानुन कुनै सञ्चारमाध्यमलाई बन्द गर्नका लागि नभइ नियमन गर्नका लागि ल्याइएको पनि स्पष्ट पारे ।

हालसम्म नेपालमा टिकटक, भाइबर र विटक मात्र दर्ता भएका छन् । यसअघि २३ माघमा नेपाल टेलिकमले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले फेसबुक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जाल दर्ता हुन नआए प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  २१:३७
प्रतिक्रिया दिनुहोस्