सोसल मिडिया
युनिकोड
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसले अब समस्या देखाएरमात्र नहुने बताएका छन् । शुक्रबार नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले समस्याको समाधान पनि दिनुपर्ने दायित्व आफूहरूलाई भएको बताए ।
"कांग्रेस पार्टीले अब समस्या मात्र देखाएर हुँदैन, समाधान पनि दिनुपर्छ । हामी समाधान दिने पार्टी हो । हाम्रो ड्युटी हो यो । नेपाली कांग्रेस पार्टीले नेपालमा रोजगारीको समस्या छ समाधान दिने हो," थापाले भने ।
उनले अगाडि थपे, "अब पार्टीको काम गर्ने तरिका पनि बदलिनुपर्छ । पार्टीको दृष्टिकोण पनि बदलिनुपर्छ । अब हामीले गनगन गर्ने पनि होइन, रुवाबासी गर्ने पनि होइन । अब समस्या भएको क्षेत्रमा कांग्रेस छ र समाधान दिन्छ भन्ने पार्टी बनाएर जान आवश्यक छ ।"
थापाले वैदेशिक रोजगारीको क्षेत्रमा देखिएका समस्या समाधान गर्न ‘मिसन रोजगारी’ राष्ट्रिय अभियान सुरु गरिएको जानकारी दिए । महामन्त्री थापाले वैदेशिक रोजगारीका समस्या समाधान गर्न पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्मासँग मिलेर अभियान थालिएको बताए । उनले वैदेशिक रोजगारीको क्षेत्रलाई तिरस्कार र गालीको क्षेत्र बनाउन नहुने बताए ।
"यो अभियान सुरु भएको एक महिना भयो । यसमा हाम्रो एउटा टिमले काम गरिरहेको छ । केही विश्वविद्यालयहरूसँग हाम्रो साझेदारी छ । केही शैक्षिक संस्थासँग पनि हाम्रो साझेदारी छ," उनले भने ।