ऊर्जा क्षेत्रको विकासले मुलुक समृद्ध बन्ने उर्जा मन्त्री खड्काको दाबी

बुधबार, चैत २७, २०८१

ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रको विकासले मुलुक समृद्ध बन्ने बताएका छन् । बुधवार सान्जेन खोला हाइड्रोपावर परियोजनाको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् ।

उनले १० वर्ष भित्रमा २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य सरकारले कामहरु अघि बढाइरहेको बताए । उनले दुई ठूला छिमेकी देशहरूसँग काँधमा काँध जोडेर अघि बढ्दै नेपालको ऊर्जा क्षेत्रको विकास गर्ने बताए ।

उनले पछिल्लो समय जलविद्युत क्षेत्रमा स्वदेशी तथा विदेशी सहयोग बढिरहेको भन्दै खुसी प्रकट गरे । विद्युत् क्षेत्रमा लगानी गरेर मात्रै आर्थिक समृद्धि आउँछ भन्ने महसुस गरेर सबैले लगानी बढाइरहेको बताए । उनले अहिले ऊर्जा क्षेत्रले छिमेकीहरूको बिचमा सम्बन्ध प्रगाढ बनाएको जिकिर गरे । १० वर्ष भित्रमा २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्य रहे पनि जलश्रोतको भरपुर प्रयोग गर्न नेपालले चाहेको बताए ।

उनले भने ‘ऊर्जा क्षेत्रको विकासले मुलुकको समृद्धि हुनसक्छ भन्ने विश्वासका साथ अहिले १० वर्ष भित्रमा २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राख्दै गर्दा हाम्रा छिमेकी मित्रहरू चीन, भारत जस्ता देशहरूले दुई ठूला मुलुकहरू हुन, आर्थिक हिसाबले सम्पन्न मुलुकहरूले हामीलाई पुर्याएको सहयोगप्रति आभार व्यक्त गर्न चाहन्छु । हामी सँगसँगै यहाँहरूसँग हिँड्न चाहन्छौँ । दुई वटा छिमेकी मुलुकहरू भन्दा पर नबसीकन कदममा कदम मिलाएर हिँड्न नेपाल चाहन्छ । १० वर्ष पहिला यस क्षेत्रमा धेरै लगानी गर्न इच्छुक नहुने परिस्थित थियो । वित्तीय क्षेत्रहरू पनि आँट गरेर अघि बढ्न नसकेको स्थिति थियो । १० वर्ष यता अत्यन्त ठूलो शाहसका साथ यस क्षेत्रको विकासले मात्रै आर्थिक समृद्धि आउँछ भन्ने कुरा सबैले महसुस गरेर ठूला लगानी यस क्षेत्रमा आउन थालेका छन् । छिमेकी राष्ट्रहरूको पनि सहयोग मिल्न थालेको छ, यो गर्वको विषय हो ।’

मन्त्री खड्काले नागरिकको घरमा लोडसेडिङ नहुने बताए । विद्युत् प्राधिकरणको आर्थिक अवस्था त्यत्ति राम्रो नरहेको भएपनि प्रचुर मात्रामा सुधार गर्नसक्ने ठाउँहरू रहेको बताए । एसियाकै उत्कृष्ट दक्ष इन्जिनियर विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक रहेको भन्दै आर्थिक सुशासन कायम गरेर लोड सेडिङ हुन नदिईकन जलविद्युत क्षेत्रको विकास गर्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  १३:३५
प्रतिक्रिया दिनुहोस्