पूर्वराष्ट्रपति वा उपराष्ट्रपति राजनीतिमा पुनः फर्किने काम माधवलाई लागेन निको 

मंगलबार, चैत २६, २०८१

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पूर्वराष्ट्रपति वा उपराष्ट्रपति राजनीतिमा पुनः फर्किने कार्य उपयुक्त नभएको बताएका छन्।

मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले राष्ट्रपति वा उपराष्ट्रपतिको पद सक्रिय राजनीतिभन्दा बाहिर हुने भएकाले यसलाई सम्मान गर्नुपर्ने समेत बताए।

पूर्वराष्ट्रपति वा उपराष्ट्रपति राजनीतिमा पुनः फर्किए राज्यले दिने सुविधा कटौती गर्नुपर्ने उनले बताए। उनले राष्ट्रपति भएपछि राजनीतिबाट बिदा हुनुपर्ने भएकाले आफूले यसअघि सो पद स्वीकार नगरेको जिकिर गरे।

उनले भारतले राजसंस्था पुनस्र्थापनामा आफ्नो कुनै संलग्नता नभएको बताएको उल्लेख गर्दै उत्तर प्रदेशका मुख्यमन्त्रीले पनि खण्डन गर्नुपर्ने बताए। अध्यक्ष नेपालले हराएर गएको राजतन्त्र कुनै हालतमा नफर्किने भन्दै राणा शासन पनि फर्किन्छ र? भन्दै प्रश्न गरे।

अध्यक्ष नेपालले विगत १० वर्षको संविधान कार्यान्वयनको समीक्षा गर्दै आवश्यक संशोधन गर्दा उपयुक्त हुनेसमेत उल्लेख गरे।

प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१  १३:३९
प्रतिक्रिया दिनुहोस्