Dashain Banner
Dashain Banner

टेरामक्सले चिमोटेपछि मुख्यसचिव चताराधाम पुगे

सामान्य सचिवले अर्याललाई यसरी गुन तिरे
शुक्रबार, वैशाख २८, २०८१

नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) मा जोडिएका तत्कालिन संचार सचिव तथा हालका मुख्यसचिव चताराधामको कुम्भमेलामा पुगेका छन्। टेरामक्स खरिद गर्दा अर्बौं रूपैयाँ अनियमितता भएको संसदको लेखा समिति र अख्तियारले दुबैले ठहर गरिसकेका छन्। उक्त प्रकरणमा मुख्यसचिवको प्रत्यक्ष संलग्नता भेटिएको छ। 

टेरामक्सको लफडाले मानसिक रुपमै झड्का हानेपछि प्रेसर र सुगरको ओखति सेवन गर्न थालेका मुख्यसचिव अर्याल पछिल्ला दिनमा धार्मिक र आध्यात्मिकस्थल तिर फेला पर्न थालेका छन्। बेचैन मनलाई काबुमा राख्न कहिले ओशो तपोवन त कहिले देवघाट धाम पुग्ने गरेका अर्याल अहिले भने चताराधाम पुगेका छन्। टेरामक्समा मात्र होइन संचार मन्त्रालय मातहतका अरु प्रकरण र वाणिज्य मन्त्रालय अन्तर्गतका चलखेलमा समेत जोडिएका मुख्यसचिवलाई अनेक लफडाको लप्कोले छोएको छ। 

चैत्र १९ गते सार्वजनिक गरिएको तर त्यो भन्दा एक हप्ता अघिकै क्याबिनेटले निर्णय गरेको १३ सचिवको सरुवा हुँदा उद्योग मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलालाई उपराष्ट्रपति कार्यालय पठाईएको थियो।

तर, उनको त्यहाँ लामो बसाई हुनै पाएन। चैत मसान्तमा बसेको क्याबिनेटले निरौलालाई उपराष्ट्रपति कार्यालयबाट उद्वार गरेर सामान्य प्रशासन मन्त्रालयको सचिवमा सरुवा गर्यो। यो सबै मेलोमेसो उनै मुख्यसचिव अर्यालले नै मिलाईदिए। निरौलालाई सामान्यमा हुलेर त्यहाँका विनोद प्रकाश सिंहलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग हुत्याईदिए। 

मुख्यसचिव अर्याल र बिनोदको पछिल्ला दिनमा हिमचिम घटेको थियो। त्यसको मुख्यकुरो भनेकै टेरामक्सको भित्रिपाटो हो। हुन त कुनै बेला मुख्यसचिव सामान्य सचिव सिंह भेट्न उनकै कार्यकक्षमा पनि पुग्थे तर अहिले मुख्यसचिवले तिनै बिनोदलाई हुत्याईदिए। अर्याल आफैं पनि त्यहि वित्त आयोगमा १९ महिना जति थान्को लागेरै बसेका थिए। 

आफूलाई उपराष्ट्रपति कार्यालयबाट क्रेन लगाएर तान्दै सामान्य छिराईदिने मुख्यसचिवलाई चताराधामको महाकुम्भमेला पुर्याएर मुकुन्द निरौलाले पुण्य फिर्ता गरेका छन्, अझ भनौ बेचैन मुख्यसचिवलाई गुन तिरेका छन्।

मुख्यसचिवको तीर्थाटनमा सिंगो सामान्य प्रशासन मन्त्रालय उत्रिएको छ। सङ्घीय मामिला महाशाखाका सहसचिव सुमन दाहाल सहित सचिव निरौलाले मुख्यसचिवको आकांक्षा पूरा गराउने जिम्मेवारी लिएका छन्। हुन त सचिव निरौलाको गृहजिल्लामै पर्ने चताराको कुम्भमेलामा मुख्यसचिव अर्यालको ग्रहशान्ती गर्ने मामिलामा कुनै विधि नछुटाईएको टोलीका एक सदस्यले टेलिफोन मार्फत तोकादेशलाई जानकारी गराएका छन्। महाकुम्भ मेलाको समापनमा पुगेर मुख्यसचिव अर्याल औधी खुसी भएको बताइन्छ। 

mukhyasachiv-chataradham-1715320357.jpg
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  ११:३०
प्रतिक्रिया दिनुहोस्